घुर्बिसेमा संचालित ‘डिप बोरिङ’ खानेपानी उपभोक्ता समिति र निर्माण कम्पनी माथि उजुरी

  युद्धबहादुर बोहोरा
1.9k Shares

 

फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवित्रा कुमारी आङदेम्वेलाई उजुरी पेश गर्दै घुर्बिसे पञ्चमी बजारका उपभोक्ता

 

पाँचथर : घुर्बिसे पञ्चमीमा संचालित डिप बोरिङ खानेपानी उपभोक्ता समिति र निर्माण कम्पनी माथि फाल्गुनन्द गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

इलाम र पाँचथरको सिमानामा रहेको घुर्बिसे पञ्चमी बजारमा विगत दुई वर्ष अघि देखि संचालनमा आएको डिप बोरिङ खानेपानी गत दुई महिना देखि सेवा अवरुद्ध भएको र यसको समस्या हल गर्न उपभोक्ता समिति र निर्माण कम्पनीले आवश्यक पहल नगरे भन्दै बजारबासी उपभोक्ताले सोमबार न्यायिक समितिको कार्यालयमा उजुरी हालेका छन् ।

फाकफोकथुम र फाल्गुनन्द गाउँपालिकाको ३२ लाख रुपैयाको संयुक्त लगानीमा खानेपानी योजना सम्पन्न भए पश्चात् समितिले योजनाको सार्वजनिक सुनुवाइ तथा सम्झौता सम्बन्धि कुनै पनि जानकारी नगराएको साथै हाल आएको समस्या प्रति चासो समेत नदेखाएको हुँदा बाध्य भएर उजुरी हाल्नु परेको उपभोक्ताहरुले बताएका छन् ।

उपभोक्ताले पेश गरेको उजुरी पत्र ग्रहण गर्दै न्यायिक समिति संयोजक गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्वेले सम्बन्धित पक्षलाई जानकारी गराइ यस विषयमा तत्काल छलफल गरिने जानकारी दिइन् ।

यता निर्माण कम्पनी पाथिभरा सोलार एण्ड वाटर ट्रिटमेन्टले भने उपभोक्ता समितिबाट पुरा भुक्तानी नलिएको र पटकपटक माग्दा वास्ता नगरेको आरोप लगाएको छ भने सम्पूर्ण रकम असुली गरेको उपभोक्ता समितिले दावी गर्दै आएको छ ।

दुवै पक्षको गैरजिम्मेवारी कार्य र लापरबाहीका कारण करिब तीन सय भन्दा बढी घरधुरी हाल पिउने पानीबाट वञ्चित रहेको हुँदा सम्बन्धित पक्षलाई समन्वय तथा तत्काल आवश्यक कार्वाहीको माग गर्दै उजुरी पेश गरेको बताइएको छ । उपभोक्ताले आम नागरिकको स्वच्छ पिउने पानीको अधिकार माथि खेलवाड नगर्न दुवै पक्षलाई चेतावनी सहित समस्या समाधान गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार