जनगणनामा ‘किरात धर्म’ लेख्‍न आठ किरातजन्य संस्थाको संयुक्त अपिल

दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा

काठमाडौं : आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्‍न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ ।

आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनगणना २०७८ संयुक्त अपिल’ जारी गर्दै त्यस्तो अपिल गरेको हो ।

संयुक्त अपिलमा हायु, जिरेल, थामी, याक्खा, सुनुवार, लिम्बू र राई जातिका जातीय संस्थाका प्रमुखले हस्ताक्षर गरेका छन् । संयुक्त अपिलमा सुरेल जाति उत्थान समाज केन्द्रीय समितिका अध्यक्ष सुवास सुरेल, किरात हायु समाज केन्द्रीय समिति अध्यक्ष धनवहादुर हायु, जिरेल संघ नेपाल केन्द्रीय समिति अध्यक्ष टहलबहादुर जिरेल, नेपाल थामी समाज केन्द्रीय समिति अध्यक्ष सुखवीर थामी, किरात याक्खा छुम्मा केन्द्रीय समिति अध्यक्ष लिलबहादुर रोगु, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणवीर सुनुवार, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समति अध्यक्ष योगराज लिम्बु बनेम र किरात राई यायोक्खा केन्द्रिय समिति अध्यक्ष दिवस राईले हस्ताक्षर गरेका छन् ।

किरात समन्वय समितिले जात/जातिको महलमा आआफ्नो जाति, पूर्खाको भाषामा आआफ्नो भाषा, मातृभाषामा आआफ्नो मातृभाषा र दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न लेखाउन अपिल गरेको छ ।

‘सुरेल’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘सुरेल’ नै लेख्न अपिल गरेको छ । ‘हायु’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘हायु’, ‘जिरेल’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘जिरेल’, ‘थामी’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘थामी’, ‘याक्खा’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘याक्खा’, ‘सुनुवार’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘सुनुवार’, ‘लिम्बू’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘लिम्बू’ र राईलाई  पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘थरगत भाषाहरु’ लेख्न लेखाउन अपिल गरेको छ ।

राईको थरगत भाषाहरुमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तवा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङ/छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम/लिङखिम, देवासमध्ये कुनै एक लेख्न लेखाउन अनुरोध गरेको छ ।

सुरेल, हायु, जिरेल,याक्खा,थामी, सुनुवार, लिम्बु, राईलगायतले २०४८, २०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा समेत जातिको महलमा आआफ्नो जातिहरु, मातृभाषाको महलमा आआफ्नो मातृभाषाहरु, थरको महलमा आफ्नो थरहरु, धर्मको महलमा एकताको रुपमा ‘किरात’ धर्म लेखाएका थिए ।

नेपालमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ ।

यस्तो छ संयुक्त अपिल

संयुक्त अपील
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु
सेउपाता, च्याकुम, सेवत्, सेवा, सेवायो, नमसेवल, सेवारो, सेवा !

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माण गर्न संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी आदिवासी जनजातिहरु सुरेल, हायु, जिरेल,याक्खा,थामी, सुनुवार, लिम्बु, राई लगायतले २०४८, २०५८, २०६८ सालहरुमा सम्पन्न राष्ट्रिय जनगणनामा जातिको महलमा आ–आफ्नो जातिहरु, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषाहरु, थरको महलमा आफ्नो थरहरु, धर्मको महलमा एकताको रुपमा किरात धर्म लेखाएर आ–आफ्नो पहिचानहरुलाई राज्यमा स्थापित गरेको सबैमा जानकारी गराउँदछौं ।यस सम्बन्धमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा सक्रिय सहभागी भई निम्न तालिका अनुसारको उत्तर लेख्न लेखाउन हार्दिक अपील गर्दछौं ।
तालिका : राष्ट्रिय जनगणना २०७८ मुख्य प्रश्नवलीको ब्यक्तिगत विवरण खण्ड
क्र.सं. जात÷जाति के हो ? भन्ने महलमा पुर्खाको भाषा कुन हो ? भन्ने महलमा मातृभाषा कुन हो ? भन्ने महलमा दोस्रो भाषा कुन हो ? भन्ने महलमा कुन धर्म मान्नु हुन्छ, भन्ने महलमा

१ सुरेल सुरेल सुरेल नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

२ हायु हायु हायु नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

३ जिरेल जिरेल जिरेल नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

४ थामी थामी थामी नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

५ याक्खा याक्खा याक्खा नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

६ सुनुवार सुनुवार सुनुवार नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

७ लिम्बु लिम्बु लिम्बु नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

८ राई थरगत भाषाहरु थरगत भाषाहरु नजिकको आदिवासी जनजातिको मातृभाषा  किरात

राईको थरगत भाषाहरु :

(वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तवा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङ÷छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम÷लिङखिम, देवास मध्य कुनै एक)
प्रष्ट, मजबुत र संगठित तथ्याङ्क किन ?

जात/जाति महलको सन्दर्भमा :

हामी आदिवासी जनजातिको आन्दोलन समेतले स्थापित गरेको समानुपातिक समावेशीताको व्यवस्था बमोजिम राज्यसंयन्त्रहरुबाट योजना, अभ्यास, कार्यान्वयन भइरहेको अवस्था हो । यसका उदाहरणहरु संघीय संसद, प्रदेश संसदमा, निजामती सेवा, सेना, प्रहरी सेवाहरुमा प्रतिनिधित्व, सहभागिता एवम् प्रवेश हुन् । त्यसैगरी प्रान्त÷राज्य प्राप्तिको लागि पनि विभिन्न आयोग, अध्ययन कार्यदल, योजनाविदहरुले जनसंख्यालाई एक प्रमुख आधार बनाएको हो र अझ रहनेछ । संविधानमा उल्लेखित स्वायत्तता, स्वशासन, विशेष संरक्षित क्षेत्रको व्यवस्थाहरुलाई योजना र अभ्यास गर्नको लागि पनि जातिगत जनसंख्या एक मुख्य आधार हुनेछ । यी व्यवस्थाहरुबाट प्रदत्त अधिकार उपभोग एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न साथै थप अधिकार प्राप्तिको लडाईको लागि पनि प्रष्ट, र मजबुत जनसंख्या जरुरी हुन्छ ।

पुर्खाको भाषा, मातृभाषा र दोश्रोभाषा महलको सन्दर्भमा :

हामी आदिवासी जनजातिहरुको एक प्रमुख सरोकार भनेको हाम्रा मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नु हो । संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ । संविधानले प्रदेशको सरकारी कामकाजको रुपमा निर्धारण हुने, भाषा आयोगको सिफारिस बमोजिम हुने व्यवस्था गरेको छ । त्यसैगरी कतिपय स्थानीय सरकार साथै अदालतहरुले मातृभाषाको प्रयोग एवम् अभ्यास गर्न थालेका छन् । मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित एवम् सुनिश्चित गर्नको लागि पुर्खाको भाषा, मातृभाषाको महलमा हालसम्म स्थापित र परिचित आआफनो मातृभाषाहरु लेखौं लेखाऔं । त्यसैगरी दोश्रोभाषा महलमा आफना नजीकका आदिवासी जनजातिहरुको मातृभाषालाई लेखौं लेखाऔं ।

धर्मको महलको सन्दर्भमा :

नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त देश हो । नेपाल धर्मनिरपेक्ष राज्य पनि हो । धर्मनिरपेक्षता हामी आदिवासी जनजातिको आन्दोलनको एजेन्डा एवम् उपलब्धी हो । नेपालको धर्मनिरपेक्ष र बहुधार्मिक अवस्थालाई कायम गर्न गराउनको लागि संगठित, प्रतिशतमा देखिने र केही ब्यापक आकारको धर्मको रुपमा विगत २०४८ सालको जनगणनादेखि स्थापित ‘किरात धर्म’को संख्यालाई कायम गराउँदै अझ बृद्धि गर्नु आवश्यक देखिन्छ । यो अभियानमा सहभागी भइरहदाँ आआफना मौलिक एवम् पृथक संस्कार संस्कृतिहरु पनि उत्तिकै महत्वका साथ आआफनो अस्तित्व र अभ्यासमा रहनेछन्, विलय हुनेछैनन् । यी विविध अनुष्ठानहरुको एकताबद्ध धार्मिक पहिचान किरात धर्म हुनेछ । संसारमा प्रचलित धर्महरुलाई हेर्दा बुझ्दा धर्म केही ब्यापक र ठूलो घेरामा परिचित भएका पाइन्छन् तथापि त्यसभित्र विभिन्न रुपहरु पाइन्छन् । धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्नको लागि धर्मको महलमा किरात धर्म लेखौं लेखाऔं ।

तथ्याङ्क संकलन र निर्माण गर्नको लागि नेपालमा प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । जनगणना जनसंख्याहरु स्पष्ट बनाउने महत्वपूर्ण अवसर हो । राष्ट्रिय र ब्यापकस्तरमा तथ्याङ्क संकलन हुने अवसर नेपालमा यो बाहेक अन्य छैन । राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भाषिक अधिकार प्राप्तिको लागि जनसंख्या एक आधारभूत पक्ष हो । अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ । जनसंख्या स्पष्ट मजबुत बनाउने समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अलमलियौं भने परिणामतः जनसंख्या कमजोर बनाउनेछ । अधिकारको संघर्ष, प्राप्ति र उपयोगलाई ‘डिरेल’ गर्नेछ । तसर्थ जनसंख्यालाई कमजोर बनाउने बहसहरुबाट सचेत भई प्रष्ट, मजबुत र ब्यापक जनसंख्या निर्माणमा लागौं ।

………………….. …………………..
सुवास सुरेल धनवहादुर हायु
अध्यक्ष, सुरेल जाति उत्थान समाज केन्द्रीय समिति अध्यक्ष, किरात हायु समाज केन्द्रीय समिति

………………….. …………………..

टहलबहादुर जिरेल सुखवीर थामी
अध्यक्ष, जिरेल संघ नेपाल केन्द्रीय समिति अध्यक्ष, नेपाल थामी समाज केन्द्रीय समिति

………………….. …………………..

लिलबहादुर रोगु रणवीर सुनुवार
अध्यक्ष, किरात याक्खा छुम्मा केन्द्रीय समिति अध्यक्ष, सुनुवार सेवा समाज संघीय समिति

………………….. …………………..
योगराज लिम्बु बनेम दिवस राई
अध्यक्ष, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समति अध्यक्ष, किरात राई यायोक्खा केन्द्रिय समिति

किरात याक्थुङ चुम्लुङको अपिल :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार