इलाम बजारमा मूर्तिको मनमोहकता


इलाम बजारमा मूर्तिको मनमोहकता

इलाम : इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको छैन, मूर्ति हेर्ने र बजार घुम्न आउनेको संख्या पनि बढ्दै जान थालेको छ ।

यसरी चोक–चोकमा राखिएको प्रतिमाले यहाँको सौन्दर्यतालाई बढाएकोमात्र छैन, यसरी कला र संस्कृतिको जगेर्नासमेत गरेको पाउँदा इलामेली सबै मक्ख देखिन्छन् ।

अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले इलामको सदरमुकाम इलाम बजारको विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको छ ।

इलाम नगरपालिकाको सौन्दर्यीकरणका लागि विभूति र देशका ख्यातिप्राप्त व्यक्तित्वहरुको सालिक स्थापना गरिएको नगरप्रमुख महेश बस्नेतले बताउनुभयो ।

इलामको मुख्य चोक, बजारमा अढाइ सय किलोको चिया टिप्दै गरेकी मजदुरको प्रतिमा स्थापना गरिएको छ । तामा र पित्तलको समिश्रणबाट मूर्तिकार विष्णु श्रेष्ठले प्रतिमा बनाएका हुन् ।

इलाम चियाको लागि प्रसिद्ध भएकाले सदरमुकाममा चियाबगान स्थापना गर्ने गजराजसिंह थापा र शंखधर साख्वाको प्रतिमासमेत उनैले बनाएका हुन् ।

नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको संग्रहालयमा अरनिकोको सालिक राखेको छ । यहाँ संस्कृति झल्काउने पञ्चेबाजा बजाएको मूर्तिसमेत राखिएका छन् ।

यस्तै, चर्चित साहित्यकार पारिजात, हास्यव्यंग्यकार विष्णु नविन, महानन्द सापकोटाको प्रतिमा पनि भिन्न–भिन्न स्थानमा स्थापना गरिएको छ ।

मूर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झनामात्र होइन, पर्यटन, कला संस्कृतिकोसमेत जगेर्ना हुने र बजारको सौन्दर्यता र पर्यटनको विकाससमेत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार