कोरोनाको उपचार महँगो

कोरोनाको उपचार महँगो, यति शुल्क लिँदैछन् सरकारी अस्पताल

काठमाडौं : सरकारले कात्तिक २ गतेदेखि लागू हुनेगरी कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेसँगै अस्पतालहरुले धमाधम शुल्क लिन थालका छन् ।

सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक तीन हजार ५०० देखि १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।

सरकारले लक्षण भएका र नभएका कोरोना संक्रमितहरुको उपचारका लागि छुट्टा–छुट्टै रकम तोकेको छ । यो रकम स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर उपचार गराइरहेका सबै अस्पतालहरुले लागू गर्नुपर्नेछ । तर, रकम अस्पतालअनुसार फरक छ ।

कोरोना संक्रमितहरुकोमात्र उपचार गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पातले भने लक्षण भएका संक्रमितहरुको निःशुल्कै उपचार गर्ने र लक्षण नभएका संक्रमितसँगमात्र शुल्क लिने जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले केही दिनदेखि लक्षण भएका संक्रमितलाई निःशुल्क र लक्षण नभएका संक्रमितसँग दैनिक दुई हजार शुल्क लिन थालेको जानकारी दिनुभयो ।

यस्तै, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले भने तीन हजार ५०० देखि १५ हजारसम्म शुल्क लिन थालेको छ ।

कोभिड युनिटका डा. सविन थपलियाले सामान्य लक्षण भएका संक्रमितहरुले दैनिक तीन हजार ५००, मध्यमखालको लक्षण देखिनेले दैनिक सात हजार र जटिल समस्या भएका वा क्रिटिकल केयर चाहिने संक्रमितले दैनिक १५ हजार तिर्नुपर्ने जानकारी दिनुभयो ।

कोभिड अस्पतालको रुपमा रहेको वीर अस्पताले भने संक्रमितहरुका लागि शय्या छुटको व्यवस्था गरेको छ ।

कोभिड युनिट प्रमुख डा. अच्युत कार्कीले सबै संक्रमितहरुलाई बेड निःशुल्क हुने तर उपचार र औषधि खर्च भने लाग्ने बताउनुभयो ।

ललितपुरस्थित पाटन अस्पतालले पनि शुल्क लिन सुरु गरेको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यले सरकारले यसअघि संक्रमितहरुको उपचारका लागि पठाउने गरेको रकमलाई आधार मानेर शुुल्क लिएको जानकारी दिनुभयो । जसमा तीन हजारदेखि १५ हजारसम्म शुल्क रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज्येष्ठ नागरिक, असहाय, एकल महिला र अपांगता भएका व्यक्तिबाहेक कोही व्यक्तिले ‘म गरिब हो, उपचार गराउन सक्दिनँ’ भनेर फारम भरेपछि निःशुल्क उपचार गरिने जानकारी दिनुभयो ।

सरकारको यो निर्णयअनुसार सामान्य लक्षण भएका व्यक्ति १० दिन अस्पताल बस्नुपरे ३५ हजार तिनुपर्छ भने माध्यमखालका लक्षण देखिएका व्यक्तिले ७० हजार र जटिल समस्या भएकाले एक लाख ५० हजार तिर्नुपर्ने हुन्छ ।

सरकारले यसअघि निःशुल्क दिँदै आएको रेमडिसिभर औषधिकोसमेत शुल्क लिनेछ ।

यस निर्णयले आगामी दिनमा संक्रमितको संख्या निकै बढ्ने र मृत्यु हुनेको संख्यासमेत बढ्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार