माङसेबुङमा १० लाख माथिका आयोजना ठेक्का प्रक्रियाबाट

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले अबदेखि १० लाख भन्दा माथिका आयोजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ ।

चालू आर्थिक वर्ष ०७७।७८ देखि १० लाख भन्दा बढी बजेट विनियोजन भएका पुर्वाधारसँग सम्बन्धित आयोजनाहरु प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट कार्यान्वयनको थालनी गर्ने भएको हो ।

सातौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार त्यसरी आयोजना कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

यसअघि वडा तथा गाउँपालिकाका सबै आयोजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन हुँदै आएको थियो । अब १० लाख भन्दा मुनिका आयोजनाहरु मात्र उपभोक्ता समिति मार्फत कार्यान्वयन हुनेछन् । स्थानीय तहले आफैं ‘स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि’ निर्माण गरी सोही बमोजिम आयोजनाहरु कार्यान्वयन गर्दै आएको थियो ।

उपभोक्ता समितिमार्फत आयोजना कार्यान्वयन गर्दा कतिपय आयोजनामा उपभोक्ता समिति, प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिहरु समेतको मिलेमतोमा आयोजनाको काममा गुणस्तरीयता नहुने गरेको, रकम बराबरको काम नहुने गरेको तथा भ्रष्टाचारले समेत प्रसय पाएको गुनासो आइरहेको थियो । उपभोक्ता समितिमा राजनीतिक दलका नेताहरु नै सहभागी हुने भएकाले राजनीतिक संरक्षणका कारण समेत प्रभावकारी काम हुन नसकेको गुनासो आउने गर्दथ्यो ।

यसरी प्रतिष्पर्धात्मक ठेक्का प्रक्रियाबाट आयोजना कार्यान्वयन गर्दा कामको गुणस्तरीयता वृद्धि हुने, थोरै रकमबाट धैरै काम हुन सक्ने तथा शुसासन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

त्यसैगरी माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिका भरी एउटै रहने गरी व्यवस्था गरेको छ ।

प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सुचिकृत हुने व्यवस्थाको शुरुवात समेत यसै वर्षदेखि गरिने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार