गाईवस्तुका लागि पोषिलो घाँस नेपियरमा कृषकको आकर्षण

इलाम : वर्खाको समयमा दुहुँनो गाई, भैंसीलाई कुँडो (खोले) र घाँसका रुपमा दिन सकिन्ने उत्तम घाँस नेपियर हो । यो हरियो घाँसमा कालो छित्रछित्र हुन्छ ।

केही वर्ष अगाडि मात्र इलाममा भित्रिएको यो घाँस हाल इलामको सबै ठाउँमा खेती गर्न थालिएको छ । स्थानीय गाउँघरमा कालो धुस भन्ने चलन चल्ती पनि छ । प्राय खुल्ला र मलिल्लो ठाउँ पायो भने निकै चिसो ठाउँसम्म पनि यसको खेती हुँदै आएको छ ।

धेरै नरम र पौस्टिक भएकोले यो घाँस दिएमा दुध र क्रिमको मात्रा अत्याधिक बढ्ने गरेको पाइन्छ । त्यसैले विभिन्न संघसंस्थाहरुले अहिले दुधको मात्रा बढाउनको लागि यो घाँसको विरुवा वितरण गर्दै आईरहेका छन् ।

अन्य घाँसको तुलनामा यो नेपियर रोप्न र काट्न सजिलो हुने भएकोले प्राय अन्य घाँस मासेर यो नेपियर रोप्ने क्रम बढेको छ । त्यसो त खुल्ला र मलिलो जमिनमा रोपेको ३ महिनादेखि राम्ररी घाँस उत्पादन हुन थाल्छ । रोपेको ३ महिनादेखि नै घाँस काट्न मिल्ने भएकोले धेरै कृषकले यो घाँस रोप्न थालेका हुन् ।

राम्रो स्याहार गर्दै काट्ने हो भने वर्षमा ४ देखि ६ पटकसम्म काट्न सकिन्छ । हिउँद यामको घाँसको लागि पनि सजिलै जोगाएर राख्न सकिन्छ । चैतदेखि कात्तिकसम्म यो घाँस पलाउने गर्छ । हिउँद याममा चिसोको कारण ४ महिना पलाउँदैन ।  रोपेपछि ३/४ वर्षसम्म सजिलै घाँस उत्पादन भैरहने भएकोले पनि यो घाँस कृषकको लागि पहिलो रोजाईमा पर्न थालेको हो ।

खुल्ला ठाँउमा हाँगो ल्याएर गाडेमात्र पनि आफै घाँस उम्रन थाल्छ । धेरै कृषकले अन्य खेतीपाती गरेको छेउको डिलैभरी रोप्ने गरेको छ । अन्य घाँस वर्षदिनमा एक पटक मात्र काट्न मिल्ने भएकोले प्राय धेरै किसानहरुले नेपियरको खेती गर्न थालेका छन् ।

सजिलो गरि रोप्नको लागि खुल्ला ठाउँ भए हाँगा गाड्ने अथवा उम्रदैं गरेको कलिलो घाँस जरैदेखि उखेलेर रोपेपनि हुन्छ । यसरी रोप्दा १/१ मिटरको फरकमा मिलाएर रोप्नुपर्छ । अन्य घाँसको तुलनामा अडिलो र जुनसुकै मौसममा पनि गाई भैंसीले राम्रोसँग खाने गरेको हुँदा सबैको घाँसको रोजाई निपियर बन्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार