कोरियामा रहेका इलामका युवाले गरे महावीरलाई सहयोग

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख १५ हजार रुपैयाँ शुक्रबार हस्तानान्तरण गरिएको हो ।

समाजका अध्यक्ष केदार निरौला र उपाध्यक्ष लिला खतिवडाले राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई नगद आर्थिक सहयोग हस्तानान्तरण गरेका छन् । आर्थिक सहयोग रकम ग्रहण गर्दै पुनले दूरगामी लक्ष्यसहित आविष्कार केन्द्र निर्माण गरिएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजान नेपाली युवाले गरेको सहयोग अतुलनीय रहेको बताए ।

अहिलेसम्म ९ करोड बराबरको आर्थिक सहयोग संकलन भएको भन्दै पुनले यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए । राष्ट्रिय आविष्कार केन्द्र आफैंलाई पनि आम्दानी गर्ने केन्द्रका रुपमा अघि बढाउने योजना सुनाउँदै पुनले नयाँ केहि गरौं भन्ने सोच भएका सम्पूर्ण नेपालीको केन्द्रका रुपमा यसको विकास गरिने बताए ।

समाजका अध्यक्ष निरौलाले वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको बताए । संस्थाका उपाध्यक्ष खतिवडाले पनि देशको समृद्धिका लागि वैदेशिक रोजगारीबाट आर्जन गरेको रकम र सीप नेपालीको हीतमा प्रयोग गर्दै अघि बढ्ने सोच रहेको बताए ।

उक्त आर्थिक अभियान संस्थाका तर्फबाट उपाध्यक्ष भवानी घिमिरेको संयोजकत्वमा संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार