बिहीबार सुर्यग्रहण, कहाँबाट कस्तो देखिन्छ ?

  नयाँ बुलन्द  188 पटक हेरिएको

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन् ।

यो सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।

कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको निमित्त कार्यकारी निर्देशक डा. शर्माले बताए ।

स्थान ग्रहण सुरु मध्य अन्त्य ग्रहणको अवधि दिप्तीक्रम (Magnitude) ग्रहण प्रतिशत
काठमाडौं ०८:४३ १०:०१ ११:३३ २ घण्टा ५० मिनेट ०.५०१ ३९
महेन्द्रनगर ०८:३८ ०९:५२ ११:१९ २ घण्टा ४१ मिनेट ०.५११ ३९
भद्रपुर, झापा ०८:४८ ०९:५९ ११:२७ २ घण्टा ५३ मिनेट ०ः४७४ ३६

चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने उनले बताए । त्यसैले यसलाई रिङ अफ फायर पनि भनिन्छ ।

यस्तो देखिने स्थानहरु साउदी अरबबाट शुरु भएर कतार, यूएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बँगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिँगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुन्छ ।

तर विरल छायाँ भने पूर्वी युरोपको केही भाग, एसियाको अधिकाँश भाग (केही उत्तरी भाग बाहेक), अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने शर्माले बताए ।

काठमाडौंबाट भने खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिनेछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

यस सूर्यग्रहणमा चन्द्रमा पृथ्वीबाट सवभन्दा टाढा पुगेको केही दिन पछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुँदा पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्णरूपमा नछेक्ने हुँदा सूर्य केबल रिङ आकारको गोलाकार पिण्डको रुपमा देखिनेछ ।

सूर्य ग्रहणलाई कसरी हेर्ने ?

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिगि्रने सम्भावना रहन्छ । साथै एक्स-रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुादैन ।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावबारे भने हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको खगोलविदहरु बताउँछन् ।

अनलाइन खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार