सूर्योदय महोत्सवको तयारी तीब्र, उद्घाटन मुख्यमन्त्री राईबाट

इलाम  : इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को अन्तिम चरणमा पुगेको छ । आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको ५ दिने महोत्सवको तयारी तीब्र पारिएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।

महोत्सव सफल पार्न नगप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल समिति तथा मातहतका विभिन्न उपसिमितहरु क्रियाशील छन् । स्वागतद्वार निर्माण, स्टलहरुको निर्माण, होटल व्यवस्थापन, खानेपानीको व्यवस्थापन, प्रचारप्रसारलगायतका सबै काम भइरहेको आयोजकले जनाएको छ ।

संघीय सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटकहरु आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी ५ लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको नगरप्रमुख राईले बताए ।  ‘हमोत्सवमा नेपाल र भारतका गरी करिब ५ लाख पर्यटकले आवतजावत गर्ने हाम्रो अनुमान छ’ नगरप्रमुख राईले भने, ‘त्यसका लागि सबैसँग समन्वय र सहकार्य गरेका छौं । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थीहरुको शैक्षिक भ्रमणको लागि समेत पहल गरिरहेका छौं ।‘

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक-सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।

कन्याममा चियाको राजधानी समेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारी सहित पर्यटकलाई अर्गानिक चियाको स्वाद चाखाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै घोडा सवारी, फोटो प्रदर्शनी तथा ब्युटिफिकेशनको कार्यक्रम हुनेछन् । श्रीअन्तुमा सुर्योदयको दृश्यावलोकन, फिक्कलमा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक-सांस्कृतिक कार्यक्रम, थुम्केमा लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, पशुपतिनगरमा नेपाल भारतको सीमाना भएकाले मिनि पशुपतिनाथको रुपमा छुट्टाछुट्टै कार्यक्रमको तय गरिएको छ ।

महोत्सवको पहिलो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उदघाट्न गरिने छ । महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ ।

पर्यटकहरुलाई खाना र बस्नका लागि नगरभरीका होटल, रेस्टुरेन्ट, होमस्टेमा व्यवस्थापन गरिएको छ । नगरपालिकाले तथ्याङक संकलन गरी पर्यटकको व्यवस्थापनको सहजताका लागि तयारी भइरहेको नगरप्रमुख राईले बताए ।

महोत्सवका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगर एक प्रमुख हो । सूर्योदय प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरु यसै नगरमा पर्दछन् । यो नगर अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दूध) गरी ७ ‘अ’ को नगरका रूपमा परिचित समेत छ ।

पर्यटकलाई सहजताका लागि कलसेन्टर स्थापना

यस्तै महोत्सवमा आउने पर्यटकहरुको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको  छ । पर्यटकहरुलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस् टोलफ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । कल सेन्टरको उद्घाटन १३ मंसिरमा हुनेछ । ‘नगरपालिकामा कल सेन्टरको व्यवस्था गरिसकेका छौं । ट्रोल फ्रि सञ्चालन गरिसकेको छौं । सबै होटल, होमस्टेहरुको केन्द्रीकृत सूचना दिने गरी नगरपालिकाले व्यवस्था गर्छ’ नगरप्रमुख राईले भने, ‘कोही पनि महोत्सवमा आएर अप्ठयारो नपरुन् भन्ने हेतुले यस्तो व्यवस्था मिलाएका हौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार