सत्ता कि प्रतिपक्ष ? (पूरा भिडियो सहित)

इलाम : इलाम साहित्य महोत्सव (३,४ असोज) को पहिलो दिन छलफलको विषय थियो ‘सत्ता कि प्रतिपक्ष ?’ बहसमा सहभागी थिए कवि, श्रवण मुकारुङ, मोमिला राई, मनु मञ्जिल र सहजकर्ता थिए विमल वैद्य ।

बहसको सुरुवातमै वैद्यले श्रवण मुकारुङलाई शीर्षक प्रश्न गरे, ‘तपाईं सत्ता कि प्रतिपक्ष ?’ प्रश्नसँगै कार्यक्रम हल तालीको गुञ्जाहटले भरियो ।

जवाफ दिन माइक समातिसकेपछि कवि श्रवण मुकारुङ निकै बेर अलमलिए । गोलमटोल जवाफ दिने प्रयास गर्दागर्दै मुकारुङले भने–
‘तपाईंको प्रश्न त्यति गाह्रो त होइन । यसको सिधै, टक्कै उत्तर दिन पनि सकिन्छ । प्रायः सबैले दिन उत्तर एउटै हो । राम्रा लेखकहरू जो संसारलाई सचेतनापूर्वक हेरेर लेख्छन् तिनीहरूभित्र आलोचनात्मक चेत हुन्छ । त्यो चेतले प्रतिपक्षको भूमिका निभाउँछ भन्ने कुरा स्थापित अवधारणा हो ।

तर, स्थापित अवधारणालाई पनि पुनः परिभाषित गर्नुपर्दो रहेछ । त्यसकारण अब त मैले दिएको जवाफ पनि अन्तिम सत्य नहुने भयो ।

साहित्यको डाइमेन्सन धेरै छ । समाज र राजनीतिमा केन्द्रित भएर लेख्ने लेखकलाई यो विमर्श र प्रश्नले काम गर्छ । तर, साहित्य समाज र राजनीतिलाई मात्र केन्द्रमा राखेर लेखिँदैन । कसैले प्रकृतिको मात्रै गुणगान गाएका छन् । फूलको त के आलोचना गर्नु । फुलेको के पक्ष के प्रतिपक्ष ?

सधैं जनताको पक्षमा, समाजको रुपान्तरणको पक्षमा वकालत गर्दै हिँड्ने स्रष्टाहरू प्रतिपक्षमै हुन्छन् । तर, कस्तो प्रतिपक्ष भन्ने कुरा महत्त्वपूर्ण हो । प्रतिपक्षका पनि किसिम हुन्छन् होला । ’मुकारुङलाई आफ्नै जवाफ चित्त बुझेन क्यार । त्यसपछि उनी प्रश्नकर्तातर्फ सोझिएर भन्न थाले, ‘यो उहाँको प्रश्नको उत्तर भएजस्तो त मलाई लागेन ।’

मुकारुङलाई जवाफ दिन अप्ठेरो पर्यो । मुकारुङको अप्ठेरो महसुस गर्दै प्रश्नकर्ता वैद्यले भने, ‘प्रतिपक्ष भन्ने तपाईंको स्वीकार रह्यो ।’ मोमिला र मनु मञ्जीलाई पनि यही प्रश्न सोधे वैद्यले । मोमिला र मञ्जिलको जवाफ ।

मोमिला : ‘सत्तामा सधैं एउटै रहँदैन । हामीले आफैंतिर फर्केर आत्मआलोचना गर्नुपर्छ । हामी सबैले सधैं स्वीकार गरेको कुरा हो, अन्तिम सत्य केही पनि छैन । अन्तिम सत्य छैन भन्दाभन्दै पनि म आफूलाई प्रतिपक्षमा उभ्याउँछु ।’

मनु मञ्जिल : ‘सत्तापक्षको मान्छे भएको भए त म कोट लगाएर संविधान दिवस मनाउन अर्कै ठाउँमा जान्थे होला । हामी पनि संविधान मान्छौं तर यसरी (बहस गरेर) । कवितामा, लेखनमा राम्रा भनिएका धेरैजसो लेखक सधैं प्रतिपक्षमै छन् । त्यसैले म पनि प्रतिपक्ष नै हो ।

अब प्रश्न हो मैले त्यो प्रतिपक्षको भूमिका कति निर्वाह गरें ?’

तीनै जना कविले आफूलाई प्रतिपक्षको रूपमा स्वीकार गरे । त्यसपछि वैद्य फेरि मुकारुङतर्फै सोझिए । ‘प्रतिपक्षी आवाज सधैं कविताले मात्रै किन बोल्नुपर्ने ?,’ मुकारुङलाई वैद्यले प्रश्न गरे ।

‘प्रश्न यति तिखारिँदै आउँछ भन्ने मैले सोचेको थिइनँ ।’ मुकारुङले हाँस्दै भने, ‘सत्तासँग शक्ति हुन्छ र त्यो शक्तिको अनेकौं ढंगले दुरुपयोग हुन्छ । सत्ताले शक्तिको दुरुपयोग जनतामाथि गर्ने हो । त्यसकारण जनतामाथि सत्ताले शक्तिको दुरुपयोग नहोस् भन्दै खबरदारी गर्ने काम हो लेखकको ।’

सत्ता कि प्रतिपक्ष भन्ने सवालमा अलमल देखाएका मुकारुङले सत्ता सधैं खराब नै नहुने तर्क दिँदै भन्न थाले, ‘सत्ता सधैं खराब नै हुन्छ भन्ने छैन । लेखकले, कविले राम्रोलाई राम्रो र खराबलाई बेठीक नै भन्नुपर्छ । ‘प्रतिपक्ष’ भन्ने हाम्रो शब्दले असल गरेकोलाई स्याबास र खराब गरेकोलाई ठीक गरिनस् भन्यो भने मात्रै प्रतिपक्षको भूमिका निर्वाह हुन्छ होला ।’

अधिकांश लेखक, कवि प्रतिपक्ष हुन्छन् । ‘त्यसो भए के सत्ताको पक्षमा उभिएर लेखिने कविता, कविता होइन त ?,’ प्रश्न थियो मोमिलालाई ।
‘तपाईं (विमल वैद्य)ले सोधेअनुसार प्रतिपक्ष भनेको विरोध हो,’ मोमिला अगाडि भन्छिन्, ‘प्रतिपक्षमा बसेर लेख्नु विरोध मात्र होइन, आलोचनात्मक चेत पनि हो ।’ मोमिलाले भनिन्, ‘सत्तामा बसे पनि प्रतिपक्षमा बसे पनि कवि र लेखकको धर्म भनेको आलोचनात्मक चेत हो ।

सत्ताले जे गरे पनि, जे भने पनि ठीक भन्ने अन्धभक्त होइन । सहीलाई सही र गलतलाई गलत भन्ने विद्रोही चेत चाहिन्छ । फेरि प्रतिपक्षको अर्थ पक्षमा बस्नेले लेखेको कविता नै होइन भन्ने होइन ?’

मोमिलापछि विमलले मञ्जुललाई प्रश्न गरे, ‘राजनीतिमा प्रतिपक्षको कुरा बढी बिक्री भएजस्तै कवितामा पनि यही हुन्छ ?’

‘पोलिटिक्सको प्रतिपक्ष र लेखनको प्रतिपक्ष फरक कुरा हो,’ राजनीतिको प्रतिपक्ष पनि एक प्रकारको सत्ता नै हो भन्दै मञ्जुल भन्छन, ‘राजनीतिको प्रतिपक्ष त बेलाबेलामा सत्तासँगै मिसिन्छ । तर, लेखक यस्तो प्रतिपक्ष होइन ।’

तर्कले कुरा नबुझिएपछि मञ्जुल उदाहरण सुनाउन थाले, ‘सानो बच्चाले अलिक ठूलो फाइटरसँग लड्दा, त्यो ठूलोलाई झापड हानेर भाग्यो भने हामीलाई खुशी लाग्ने गर्छ। अलिक हेपिएको मान्छे राम्रो क्रिकेटर भयो भने हामी ताली बजाउँछौ ।

पावरफुल जमिनदारको छोरा क्रिकेटर भएको छ भने हामी खासै मन पराउँदैनौं । हामी धेरैजसो कवि, लेखकको मनमा यस्तो हुन्छ । यो हाम्रो मानवीय र मानवतावादी दृष्टिकोण पनि होला । यही नै हाम्रो प्रतिपक्षी सोच हो ।’

कवि, लेखक, राजनीतिको सत्ता र प्रतिपक्ष दुवैका लागि प्रतिपक्ष हुने तर्क दिँदै मञ्जुल भन्न थाले, ‘सत्ताप्रति, प्रतिपक्षप्रति पनि हामी आगो ओकल्छौं ? किनभने कहिलेकाहीँ राजनीतिको प्रतिपक्षले पनि हाम्रो आवाज बोल्दैन । हाम्रो (कवि) पक्ष भनेकै सर्वसाधारण मान्छेप्रतिको झुकाव हुँदै रहेछ । हामीले लेख्ने विषय नै त्यहीँबाट आउँदो रहेछ ।’

मञ्जुलको उदाहरण अझै सकिएको छैन ।

उदाहरण : म ५ वर्षको थिएँ । बाबा, दिदी, दाइ, म र आमा खाना खान टेबुलमा बसेको समयमा बाबाले नियम ल्याउनुभयो । बाबाको नियमअनुसार जसले गल्ती गर्छ, उसले झुकेर नमस्कार गर्नुपर्ने भयो । मलाई निमय राम्रै लाग्यो ।

भोलिपल्टदेखि त मैले मात्रै नमस्कार गर्नुपर्ने भयो । किनभने गिलास पनि मेरै मात्र झरेको छ, चम्चा पनि मेरै मात्र लड्या छ । कुर्सीमा पनि म मात्रै ठोक्किएको छु ।

तर, एक दिन बाबाको हातले ठोक्किएर गिलास भुइँमा झर्यो । यो देखेपछि मलाई आनन्द लाग्यो, किनभने अब बाबाले हामीलाई नमस्कार गर्नेवाला थिए । तर, उहाँले नमस्कार गर्नुको सट्टा, मुस्कुराएर बस्नुभयो । अनि म नमस्कार गर्नुहोस् भन्दै चिच्याउन थालें । तर, पनि उहाँले नमस्कार गर्नु भएन । बरु उल्टै उहाँले मलाई ‘चुप लाग !’ भन्नुभयो । त्यसपछि म रोएँ । मलाई रोएको देखेर आमा पनि रुन थाल्नुभयो । अनि बाबाको तर्फबाट आमाले नमस्कार गर्नुभयो ।

मञ्जुलको कार्यक्रममा उपस्थित अधिकांश स्रोता÷दर्शक भावुक बने । मञ्चमा मोमिला, मुकारुङ र प्रश्नकर्ता वैद्य पनि भावकु देखिन्थे ।

मञ्जुल भन्दै थिए, ‘त्यो दिनदेखि मलाई आजसम्म आमाको कोमलता मन पर्छ । सत्ता भनेको त बाबा रहेछ । त्यसैले मलाई यो कोमल चिज मन पर्छ । अर्थात् त्यो कोमल पक्ष हाम्रो रहेछ ।’

मञ्जुलको उदाहरणसहितको जवाफ पाएपछि वैद्य फेरि मुकारुङतर्फ सोझिए । ‘प्रतिपक्ष भन्नु मार्गदर्शक हुनुपर्छ कि आत्म अन्वेषी ?,’ वैद्यले मुकारुङलाई प्रश्न गरे ।

‘मानवीयताको, मानवीय मूल्यको पक्षमा हामी हुन्छौं । इतिहासदेखि अहिलेसम्म लेखेको कुरा पनि मानवीयता नै हो ।’ जवाफ दिँदादिँदै मुकारुङ प्रश्न भुले र, वैद्यलाई प्रश्न दोहोर्याउन आग्रह गरे । वैद्यले प्रश्न दोहोर्याए ।

‘त्यो दोस्रो (आत्मअन्वेषी) चाहिँ ठीक होला । मुकारुङ जवाफ दिन थाले, ‘सान्दर्भिक होला । पहिलो (मार्गदर्शक) ले चाहिँ लेखकलाई रिजिड बनाउने सम्भावना हुन्छ । यसले लेखकलाई साँघुरो बनाउँछ ।’

पालैपालो मुकारुङ, मोमिला र मञ्जुललाई प्रश्न गरिरहेका वैद्यले यसपटक मुकारुङले पहिलो प्रश्नको जवाफ दिएलगत्तै दोस्रो प्रश्न गरे, ‘२०६२÷६३ को आन्दोलनको समयमा श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ मान्छेले टिकट काटेर पनि सुने ।

त्यसपछि मुकारुङ एकेडेमी (नेपाल प्रज्ञा–प्रतिष्ठान) जानुभयो, त्यसपछि यस्तो (कडा, आलोचनात्मक) सिर्जना आएनन् भन्ने छ नि त ? जुन ठाउँमा जानुभयो, त्यो ठाउँले चेतलाई रोक्यो कि ?’

मुकारुङ पनि उदाहरणसहित जवाफ दिन थाले, ‘नेपालमा लेखेर बसिरहेको लेखक कतारमा गएर लेख्न थाल्यो भने काम अलिक बेसी हुन्छ । धपेडी हुन्छ र, नेपालमा हामी उसको अनुपस्थिति भएको जस्तो महसुस गर्छौं ।

हाङयुग अज्ञात हङकङमा १४ वर्ष बस्नुभयो । त्यो समयमा हामीले नेपालमा उहाँको अनुपस्थिति अनुभव गर्छौं । कतारमा गएर तीर्थ संगमले लेखिरहेकै छन् ।

खासमा लेखकहरू, साहित्यिक समाजबाट बाहिर जानुभएको कारणले उहाँको एब्सेन्स हामी आफैंले क्रियट गर्यौं । यो हाम्रो पुरानो सोचाइ हो ।
भूपि शेरचन एकेडेमीमा जानुभयो, अनि लेख्न सक्नुभएन भन्ने किस्सा बन्न थाल्यो । वास्तवमा यस्तो होइन ।

प्रतिबद्ध लेखक, कविलाई प्रधानमन्त्री बनाए पनि लेखिरहन्छ । जसरी हाम्रो प्राधानमन्त्री लेखिरहनुभएको छ । कुन पद र कहाँ पुग्यो भन्दा पनि लेखक आफ्नो रचना कर्ममा कति इमानदार भयो भन्ने महत्त्वपूर्ण कुरा हो ।

पद, स्थान र समयभन्दा लेखकको इमानदार रचर्नाकर्मलाई शक्तिशाली मान्ने मुकारुङलाई नै काउन्टर गर्ने गरी वैद्यले मञ्जुललाई प्रश्न गरे, ‘लेखनमा स्थायी प्रतिपक्ष भन्ने । तर, सुविधा भोग्दा भने राज्यका सबै कुरा भोग्ने कविलाई के भन्ने ?’

‘पहिले राजा महाराजको शासनको बेलामा हामी सडकमा उत्रियौं । कविता वाचन गर्यौं । प्रहरीसँग पौंठेजोरी खेल्यौं,’ आफ्नै कवि साथीकोे उदाहरण दिँदै मञ्जुल अगाडि भन्छन्– मसँग कविता लेख्ने विद्रोही कवि साथी थिए । लालकित्ताबाट आएर कविता लेख्नेहरू प्रतिपक्ष त प्रतिपक्ष नै थिए । तर पछि प्रतिपक्ष नै सत्तामा गएपछि उनीहरू प्रतिपक्षको पनि प्रतिपक्ष भए । यो बडो अप्ठेरो हो ।

सत्तामा बसेर सुविधा भोग गरेको भनेर तपाईंले इंगित गरेको माधवप्रसाद घिमिरेलाई होला । म उहाँलाई प्रणाम गर्छु । उहाँको विशेषता के हो भने सत्ताले उहाँलाई सम्मान गर्यो । १०० वर्षको उमेरमा पनि कवि भएर बस्न सक्ने लेखकलाई सत्ताले केही सहयोग गर्छ भने के आपत्ति ?

सत्ताको नजिक बस्नेबित्तिकै त्यसले कविता राम्रो लेख्दैन भन्ने होइन । कसैलाई राष्ट्रकवि, राजकवि भन्दै काखमा च्याप्नु र कसैलाई कविता लेखेकै कारण बन्दुक देखाउनु, बुटले हान्नुचाहिँ अप्ठेरो हो ।

कार्यक्रमको अन्तिम प्रश्न फेरि कवि श्रवण मुकारुङलाई, ‘सत्ताको हावा जता चल्यो उतै ढल्किने कविलाई तपाईं के भन्नुहुन्छ ?’
‘सत्ताको……(मुकारुङले फेरि प्रश्न भुले) के भन्नुभयो रे ?’

वैद्यले फेरि प्रश्न सम्झाउनु पर्यो । दोहोर्याउनु पर्यो । ‘अब प्रश्नकै पछाडिपट्टि आग्रह वा केही कुरा छ । यसलाई अर्को तरिकाले भन्दा पनि हुन्छ ।’
मुकारुङ सुरुवातमा जस्तै जवाफमा अलमल गर्न थाले, ‘लेखक….. त्यो माक्र्सवादीले भन्छन् नि, जडसूत्रवाद । हो, त्यसरी नै एउटै कुराको धोती अड्याएर बस्नुहुन्छ कि समयसँगै गतिशील हुनुहुन्छ ?’

‘यही प्रश्नलाई पोजेटिभ ढंगले उत्तर खोज्नुहुन्छ भने के फरक पर्छ,’ मुकारुङ ठूलो स्वरमा बोल्न थाल्छन्, ‘तपाईंले खोज्नुभएको उत्तर के हो भने, एमालेबाट कांग्रेस अनि माओवादी हुने प्रक्रिया के हो ? भन्ने होइन त ?’

‘तपाईंको भाषाचाहिँ खराब छ,’ मुकारुङ वैद्यमाथि खनिए, ‘तपाईंको प्रश्न अवसरवादी हो कि होइन भन्ने अर्थमा छ । तर, त्यसरी हेर्न भएन नि त । सामान्य मानिसमा जस्तै लेखकमा पनि परिवर्तन आउन सक्छ । अध्ययनले, अनुभवले, जीवन यात्राको प्रक्रियाले ।’

अन्त्यमा मुकारुङ प्रश्नको सिधा जवाफ दिने मुडमा पुगे, ‘प्रश्नअनुसार जवाफ दिँदा त्यो अवसरवादी हो । अवसरवादी लेखक ।’

-शिलापत्रबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार