राखीको रौनक

जनकपुर, कपिलवस्तु : तराई–मधेसका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिने राखी पर्व धुमधामका साथ मनाइएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयतालाई प्रगाढ बनाउने विश्वास गरिन्छ ।

पवित्रता, प्रेम, शक्ति र एकताको प्रतीककारुपमा राखी पर्वलाई लिइएको छ । दिदीबहिनीले दाजुभाइको रक्षाका लागि राखी बाँधेर यो पर्व मनाउने गर्दछन् ।

तराईका जिल्लाहरुमा यो पर्व विशेष उल्लासपूर्वक मनाइने परम्परा छ ।

हुन त दाजुभाइ र दिदीबहिनीबीच सधैंभरि आत्मीय सम्बन्ध हुन्छ नै । त्यसमा पनि बेलाबखत आउने यस्ता सांस्कृतिक पर्वले त्यसलाई थप प्रगाढता बनाउने धेरैको विश्वास छ ।

यसमा दिदीबहिनीहरुले दाजुभाइको सुख, समृद्धि, लामो आयु तथा सफलताको कामना गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीहरुलाई दक्षिणा तथा उपहार दिने चलन छ ।

राखी पर्वले दाजुभाइ तथा दिदीबहिनीहरुबीचको अटुट सम्बन्ध दर्शाउँछ ।

पौराणिक कथनअनुसार रक्षाबन्धनको सुरुआत महाभारतकालीन समयबाट भएको देखिन्छ ।

महाभारतमा भगवान् श्रीकृष्णले आफ्नो चक्रबाट शिशुपालको शीर काटेर बध गरेका थिए । चक्र फिर्ता भएर भगवान्को औंला काटिएपछि रगत बगिरहेको देखेर बहिनी द्रौपदीले आफूले लगाएको साडी च्यातेर औंलामा बाँधिदिएको प्रसंग छ ।

त्यसबेला श्रीकृष्णले बहिनीलाई जीवनभर रक्षा गर्ने वाचा गरेका थिए । जुन श्रावण शुक्ल पूर्णिमाको दिन थियो । यही घटनाबाट यो पर्वको सुरुआत भएको शास्त्रीय मान्यता छ ।

दिदीबहिनी नहुनेले भने पुरोहितबाट राखी बाँधेर यसलाई मनाउने गरेका छन् । तराईका जिल्लामा राखीलाई भाइटीकापछिको विशेष पर्वको विशेष लिने गरिन्छ ।

पछिल्ला दिनहरुमा भने पहाडी समुदायमा पनि यसको महत्व बढ्न थालेको छ ।

यस अवसरमा केही प्रदेशले सार्वजनिक बिदा दिएपनि संघीय सरकारले बिदा नदिएकोप्रति भने कतिपयले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार