गिज्याउँदैछ राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरीले

 

news

काठमाडौं : रानीपोखरी । मल्लकालीन पुरातात्विक सम्पदा । मल्लराजा प्रताप मल्लले पुत्रवियोगमा परेकी रानीलाई भुलाउन उपहार स्वरुप बनाइदिएको प्रेम प्रतीक ।

२०७२ साल वैशाख १२ गते आएको गोरखा भूकम्पले मन्दिरको बीचमा रहेका बालगोपालेश्वर मन्दिर भत्कायो । पुनःनिर्माण नगरी प्रयोगमा ल्याउन नमिल्ने भयो । पुनःनिर्माणका लागि सरकारले तरारुकता देखायो ।

निकै तामझामका साथ २०७२ सालको माघ २ गते १८ औं भूकम्प दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास गराइयो । प्रधानमन्त्री केपी ओलीसमेत भएर गरिएको शिलान्यासपछि पनि पोखरी त बनेन बरु अनेक बहानाबाजी र विवादमा रुमल्याइयो ।

यहाँको मन्दिर प्रत्येक वर्ष भाईटीकामा दिन मात्र खुल्ने परम्परा रहेकाले आउँदो वर्ष अर्थात् विसं २०७३ को तिहारका लागि प्रयोगमा ल्याइने ढोल पिटियो । तर भूकम्प गएको चार वर्ष पूरा हुँदासम्म पनि रानीपोखरी उसैगरी यसैगरी ढलेको मात्र होइन अझ कुरुप बनाउने प्रयासमा थलिएको छ ।

पाँच करोड रकम बनाइयो स्वाहा

रानीपोखरी बनाउने नाममा अहिलेसम्म करोडौं रुपैयाँ भने अनाहकमा सकाइएको छ । पुरातात्विक सम्पदालाई आधुनिक पौडी पोखरी जस्तो बनाउने खेलमा यो रकम उडाइएको हो ।

रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले पोखरी पुनःनिर्माण कै लागि भन्दै पटक पटक बोलपत्र गरी कामै नलाग्ने संरचनाका नाममा पाँच करोडभन्दा बढी सकाएको हो ।

कामपाले पोखरी र पोखरी आसपासमा कंक्रिट प्रयोग गरेपछि लम्बिएको विवाद प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ अहिले टुंगिएको छ । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति गरिएको छ । र कामनपालाई भक्तपुर नगरपालिकाले सघाउने भएको छ ।

छ करोड २९ लाख रुपैयाँ लागतमा रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्नुपर्नेमा पौडीपोखरी जस्तो संरचनामै चार करोड रुपैयाँ सकिएको बताइएको छ । सिमेण्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर बालगोपालेश्वर मन्दिर बनाउन थालेपछि अर्को एक करोड स्वाहा पारिएको छ ।

प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि ब्याकुल बनेकी रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार