दुई तिहाईको अगाडि कसैको दादागिरी चल्दैन : रक्षामन्त्री पोख्रेल (भिडियो सहित)

शहिद वान्तवाको शालिक अनावरण

इलाम : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेत्र विक्रिम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसा त्यागेर मूलधारको राजनीतिमा नआए आफैं सिद्धिने चेतावनी दिएका छन् । शहिद रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसमा माङसेबुङ गाउँपालिको इभाङमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

विप्लव समूहको पछिल्लो गतिविधि सरकारलाई अमान्य भएको बताउँदै रक्षमन्त्री पोख्रेलले विप्लवलाई हिंसाको बाटो त्यागेर मूलधारको राजनीतिमा आउन आग्रह गरे । ‘जनतालाई चन्दा माग्ने, नदिदाँ बम पड्काएर उडाईदिने, यस्तो गतिविधि राज्यलाई कदापी स्वीकार हुँदैन’ रक्षामन्त्री पोख्रेलले भने, ‘तपाईहरुको खास माग के हो ? संविधानमा भएको कुन व्यवस्थालाई सुधार गर्नुपर्छ हामी छलफल गर्न तयार छौं । तर यस्तो हिंसात्मक गतिविधि मान्य हुँँदैन ।’

रक्षामन्त्री पोख्रेलले विप्लवको गतिविधि नसुध्रिए सरकारले ठेगान लगाउने चेतावनी समेत दिए । दुई तिहाई शक्तिको अगाडि कसैकोे दादागिरी नचल्ने बताउँदै मन्त्री पोख्रेलले यस्तो गर्नेलाई कडा कारबाही गर्न सरकार लागि परेको बताए ।

उनले अहिले विकास गर्ने समय भएकाले आन्दोलन छोडेर साझेदारी गर्न आग्रह समेत गरे । ‘राजनीतिमा कुनैबेला हामी प्रतिष्पर्धा गर्यौं । कसैलै जित्यौं, कसैले हार्यौं । तर अहिले विकासमा साझेदारी गरौं’ पोख्रेलको आग्रह थियो ।

https://www.youtube.com/watch?v=dAjXQprRopo

सरकार समृद्ध नेपाल निर्माणमा जुटिरहेको बताउँदै उनले जनताको मन जित्ने काम गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘अहिलेसम्म सरकारले विकासको आधाभूत जग निर्माणमा समय खर्चियो । अब जनताको सपना पूरा गर्ने काममा अगाडि बढ्दैछ’ पोख्रेलले भने, ‘नयाँ वर्षको सुरुआतसँगै जनतालाई सेवा प्रदान गर्ने काममा सरकार अगाडि बढ्नेछ ।’ अर्को प्रसंगमा मन्त्री पोख्रेलले शहिद रत्नकुमार वान्तवाको भौतिक शरीर मृत्यू भएपनि सपना, त्याग र बलिदान मर्न नदिने प्रतिवद्धता जनाए । अहिलेसम्म शहिदको सपना पूरा गर्न बाँकी नै रहेको बताउँदै उनले त्यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताए ।

त्यस्तै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले शहिद रत्नकुमार वान्तवाको सपना पूरा गर्न दुई कम्युष्टि पार्टीबीच एकता भएको बताए । कम्युनिष्ट एकता विश्वका लागि नमुना भएको दावी गर्दै नेम्बाङले शहिदको सपना पूरा गर्न सम्पूर्ण राजनीतिक दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ का अध्यष देवराज मिमिरे, माङसबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बाले सम्बोधन गरेका थिए । कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने ३ जनालाई सम्मान समेत गरेको छ । शहिद रत्नको समकालीन योद्धा अगम देवान, कमलसिंह मादेन र नोवल केमी राइलाई सम्मान गरेको हो ।

शहिद वान्तवाको शालिक अनावरण

यसअघि शहिद रत्नकुमार वान्तवाले शहादत गरेका स्थल माङसेबुङको इभाङमा निर्मित शहिद रत्नकुमार वान्तवाको शालिक अनावरण गरिएको थियो । रत्न बम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नुनुमा राइले गरेकी थिइन् । संचालन रविन्द्र सुवेदीले गरेका थिए ।

२७ चैत २००८ मा इलामको चमैतामा जन्मिएर तत्कालीन नेकपा मालेका केन्द्रीय सदस्य वान्तवालाई तत्कालीन पञ्चायती सरकारले २७ चैत २०३५ मा इलामको माङसेबुङ गाउँपालिका २ को इभाङमा गोली हानी हत्या गरेका थिए । उनको हत्या भएको स्थानमा शहिद रत्न पार्क र उनको शालिक निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार