काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित भएकाको उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।
सोमबार विज्ञप्ति निकाली चन्दले पार्टीपंक्ति तथा जनवर्गीय संगठनका कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
बारा र पर्सामा आएको हावाहुरीसहितको असिना र पानीका कारण भएको जीउधनको क्षतिमा पार्टी दुःखित भएको पनि उनले उल्लेख गरेका छन् ।
प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलि दिँदै चन्दले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
मृतकका परिवारलाई राहत र घाइतेको उपचारको व्यवस्था गर्न उनले सरकारसँग माग पनि गरेका छन् ।