दाउफिन्स बन्यो माईभ्याली गोल्डकपको च्याम्पियन (भिडियो सहित)

पाँचौं संस्करणको माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि चुमेपछि सामूहित तस्विर खिचाउँदै उपाधि विजेता दाउफिन्सका खेलाडीहरु । तस्वीर : राम योङहाङ

इलाम : विदेशी टिम क्यामरुनको दाउफिन्स क्लब इलाममा आयोजित पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार भएको फाइनलमा नेपाली ‘ए’ डिभिजन क्लब मिहालयन शेर्पा क्लबलाई २–० गोलको सहज जित निकाल्दै दाउफिन्सले उपाधि चुमेको हो ।

दाउफिन्सका यानिक ओहाना र पेटाङगाले पहिलो हाफमा गरेको गोल नै उपाधिका लागि पर्याप्त भएको थियो । खेलको सुरुमा नै हिमालयन शेर्पालाई दवावमा राख्न सफल दाउफिन्सले आठौं मिनेटमा नै गोलको खाता खोलेका थिए । दाउफिन्सका यानिक ओहानाले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । २० औं मिनेटमा पुनः दाउफिन्सकै पेटाङगाले दोश्रो गोल गरी टिमलाई उपाधि निश्चित दिलाएका थिए ।

पहिलो हाफमा कमजोर पर्दशन गरेको हिमालयन शेर्पाले दोश्रो हाफमा समेत खेल सुधार गर्न सकेन । ६५ औं मिनेटमा हिमालयन शेर्पा १० खेलाडीमा सीमित भएपछि झनै दवावमा परेको थियो । हिमालयन शेर्पाका विदेशी खेलाडी ड्याडी वाम्बाले रेफ्री श्रवण लामालाई दुर्वव्यहार गरेपछि लामाले रेडकार्ड दिएका थिए । पूर्वार्धमा २ गोल खाएको हिमालयन शेर्पाले १० खेलाडीमा सीमित भएपछि उपविजेतामा नै चित्त बुझाउन बाध्य बनेको थियो ।

दाउफिन्स माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको टिम हो । जितसँगै दाउफिन्सले चौथो पटक उपाधि जितको रेकर्ड कायम गर्न सफल बन्यो । जारी सिजनका ८ प्रतियोगितामा सहभागिता जनाएको दाफिन्सले आहा रारा गोल्डकप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको थियो ।

धरानमा सम्पन्न २१ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधि समेत जित्यो । बुटबलमा सम्पन्न २१ औँ तिलोत्तमा गोल्डकपको उपाधि भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो । पोखराको आहारारा गोल्डकपको १७ औँ संस्करणमा दाफिन्सले पुलिसलाई तेस्रो पटक हराएको थियो । माईभ्याली गोल्डकपमा पनि पुलिसलाई चौथो पटक पराजित गर्दै दाउफिन्स फाइनलमा प्रवेश गरेको थियो । बलिया र अग्ला कदका अफ्रिकी खेलाडीहरु नेपाली टिमका लागि चुनौती बनेका थिए ।

हिमालयन शेर्पा भने जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्रीस्टार क्लवलाई पराजित गरी फाइनलमा आएको थियो । सिजनमा दोश्रो विशाल मेमोरियल गोल्डकपमा पनि हिमालयन शेर्पा विभागीय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै उपविजेता बनेको थियो ।

विजेता दाउफिन्सले नगद ७ लाख रुपैयाँ र ट्रफि प्राप्त गर्यो । उपविजेता हिमालयन शेर्पा क्लबले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो ।

फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता हिमालयन शेर्पाका विशन गुरुङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ठ खेलाडी उपविजेता हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले टिभिएसको १६० सिसिको अपाची मोटरसाइकल प्राप्त गरे । सर्वाधिक गोलकर्ता उपविजेता हिमालयन शेर्पा क्लबका सुनिल खड्का घोषित भए । खेल अवधिभर ४ गोल गरेका उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ठ गोलरक्षक विजेता दाउफिन्सका पिसो जाङगा, उत्कृष्ठ डिफेन्डर विजेता दाउफिन्सकै आको बोटा, उत्कृष्ठ मिडफिल्डर उपविजेता हिमालयन शेर्पाका त्रिदेव गुरुङ, उत्कृष्ठ फर्वड दाउफिन्सका पेटेङ्गा र उत्कृष्ठ प्रशिक्षक दाउफिन्सकै कोम वोम्बा घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरे ।

विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।

गत २६ फागुनदेखि सञ्चालित प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १० टिमको सहभागिता थियो  । प्रतियोगितामा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब, ‘ए’ डिभिजन क्लब थ्रीस्टार क्लब ललितपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक माईभ्याली फूटबल क्लब तथा मेची नेत्रालय झापा, युनाइटेड क्लब दार्जिलिङ भारत, नेप्लीज एकाडेमी क्लब हङकङ र दाउफिन्स क्लब क्यामरुन सहभागी थिए ।

माइभ्याली फुटबल क्लबको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार