
इलाम : स्थानीय तह पुनर्संरचना अघि इभाङ गाविसका प्राविधिक पुष्कर कार्की अहिले वडासचिवको काम गर्छन् । त्यो पनि एउटा मात्र होइन, दुई दुई वटा वडाको । प्रविधिकको काम त छँदैछ, त्यसमा वडा सचिवको बोझ पनि थपिएको छ। गजुरमुखीमा प्राविधिक रहेका युवराज दाहालको जिम्मेवारी पनि उस्तै छ ।
गाउँपालिका घोषणा भएको यतिको समय बित्दा जिल्लाकै विकट मानिने माङसेबुङ गाउँपालिकाका ६ वटा वडामा १ जना पनि सुब्बासरहका सचिव छैनन् । जसका कारण दैनिक कार्यसम्पादनमा समस्या छ ।
साबिकका बाँझो, इभाङ र गजुरमुखीलाई मिलाएर बनेको यो सिंगो गाउँपालिका नै कर्मचारी अभावका कारण समस्यामा छ । वडासचिव चलाउनेमा अरू २ जना पशु कार्यालयबाट गएका कर्मचारी छन् । प्राविधिक काम गर्दै आएकाहरूले सचिव र प्राविधिक दुवै काम गर्नुपर्छ । ‘हाम्रो जिम्मेवारीभन्दा फरक काम गर्नुपरेपछि समस्या त हुने नै भयो,’ ३ र ५ नम्बर वडाका सचिवकव समेत जिम्मेवारी सम्हालेका प्राविधिक पुष्कर कार्कीले भने, ‘जसोतसो काम त चलाइएकै छ तर छिटो छरितो ढंगबाट सेवा दिन भने कठिन छ ।’
एकै जनाले २/२ तिर समेत सचिव र प्राविधकको काम गर्नुपरेपछि नियमित कार्यालय सञ्चालनमा नै कठिनाइ आउने गरेको छ । योजनाको काम सकेर आएकाले समयमा भुक्तानी नपाउने, योजनाकै डिजाइन र इस्टिमेट गर्ने काममा ढिलाइ हुने जस्ता बग्रेल्ती समस्या वडावासीले झेल्नुपर्छ ।
सेवासुविधा गाउँमा नै पुगे पनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन नहुँदा भाडाको घरमा मुस्किलले चलाउनुपर्ने बाध्यता छ ।
प्राविधिकशिक्षा अध्ययन गरेर आएकालाई वडाको सबै जिम्मेवारी दिँदा असहज तछँदैछ समय व्यवस्थापनमा पनि उत्तिकै कठिनाइ हुने गरेको छ । गाउँपालिकामा पनि पर्याप्त कर्मचारी छैनन् । सूर्योदय नगरपालिकाका लेखापाल र सहलेखापालले सातामा ३ दिन गाउँपालिकामा सेवा दिइरहेका छन् ।
ठूलो भूगोल र धेरै योजना गाउँपालिकामा रहने भए पनि कर्मचारी कम हुँदा काम गर्नै कठिन हुने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । ‘योजना छनोटदेखि डिजाइन इस्टिमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्ययोजनाअनुसार विकासका गतिविधि बढाउन कठिन छ,’ उनले भने, ‘जुन जाँगरले काम अगाडि बढाउने योजना थियो कर्मचारी अभावकै कारण समस्या हुँदै आएको छ ।’
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखामा १ जना सुब्बा, १ जना कम्प्युटर अपरेटर र १ जना इन्जिनियर मात्र छन् । जतिसक्दो चाँडो कर्मचारीको व्यवस्थापन गरेर कार्यसम्पादनलाई सहज बनाउन माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताए ।



















































