‘ढुक्क भएर लगानी गर्नुहोस्, सरकार साथमा छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीलाई अभिनन्दन

प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत ।

इलाम : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकार जनताको विकासको चाहनालाई पूरा गर्दै अगाडि बढिरहेको बताएका छन् । समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सरकार अहोरात्र खटिरहेको बताउँदै प्रधानमन्त्री ओलीले चाँडै विकासले कोल्टो फेर्ने उल्लेख गरे ।

इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम लगानी प्रवद्र्धन सम्मेलन २०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीले कुर्सी नपाएर विरोध गरेको भएपनि सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी गरे । सबैतिर तीब्र गतिमा सडक, विजुली, शिक्षा, स्वास्थ्य लगायतको पहुँच विस्तार भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले कसैले विरोध गर्दैमा समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षा, विकास र निर्यातका हिसाबले इलाम अगाडी रहेको बताउँदै ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आगह्र समेत गरे । उनले सरकार साथमा रहेकाले कुनै समस्या नहुने आश्वासन समेत दिए ।

प्रधानमन्त्री ओलीले सबै काम सरकारी निकायले मात्र गरेर पुर्ण नहुने भन्दै नीजि क्षेत्रले पनि साथ दिनुपर्नेमा जोड दिएका थिए ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले इलाममा पहिलो पटक लगानी सम्मेलन सुरु भएको हो । विभन्न छ वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै इलाम नगरपालिकाले लगानी सम्मेलन गरेको हो । जिल्लाका कृषि, शिक्षा, स्वास्थ्य, डेरी जडिबुटि र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रुपमा अगाडि बढाएको छ ।

इलाम सदरमुकाम (खलंगा) स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा गरिएको लगानी सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको छ । प्रधानमन्त्रीबाट उद्घाटन गरिएको भएपनि लगानीका लागि यद्योगी, व्यापारी, व्यवसायी, उद्योगा वाज्यि संघ, महासंघसँग छलफल गरी ‘इलाम घोषणापत्र’ जारी गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई अभिनन्दन

लगानी सम्मेलन उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्द गरिएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै इलाम नगरपालिकाले नगरबासीका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्द गरेको हो । उनलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मायाको चिनो सहित खादा र अविर लगाएर अभिनन्दन गरे । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा संविधान सभाका पूर्व अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश १ का कानुनमन्त्री हितमान कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ठ सदस्य चण्डीराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।

सात विधाका पुरस्कार वितरण

लगानी सम्मेलन उद्घाटननको अवसरमा नगरपालिकाले विभिन्न सात विधाका उत्कृष्ठलाई पुरस्कृत गरेको छ । वातावरण पुरस्कारबाट इलाम नगरपालिका ५ नम्बर वडा कार्यालय नगद एक लाख सहित पुरस्कृत भयो ।

खेलकुद पुरस्कारबाट इलाम ७ का मंगेश बस्नेत, संगीत, कला साहित्य पुरस्कारबाट इलाम ७ का रोशन कर्माचार्य, सामाजिक सेवा पुरस्कारबाट इलाम ५ का मनबहादुर गुरुङ, सञ्चार क्षेत्रको पुरस्कारबाट इलाम ७ का विष्णु निष्ठुरी, व्यवसायिक पर्यटन पुरस्कारबाट इलाम ६ का हरी गुरुङ र व्यवसायिक कृषि पुरस्कारबाट इलाम ४ का महानन्द ओझा पुरस्कृति भए । उनीहरुले जनही नगद १० हजार पुरस्कार पाए ।

ओलीको अभिनन्दनको कांग्रेसद्वारा विरोध

यता नेपाली कांग्रसेले प्रधानमन्त्री ओलीलाई नगरपालिकाले गरेको नागरिक अभिनन्दनको वहिस्कार गरेको छ । कांग्रसेले संस्थागत रुपमा अभिनन्दनको वहिस्कार गर्दै लगानी सम्मेलनमा सहभागीता समेत जनाएन ।

मुलुकको खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टचार, फितलो कुटनिति, असन्तुलित परराष्ट्र निती, धर्मप्रचार संस्थासँगको अप्राकृतिक साँठगाठका कारण असफलतातर्फ लम्किएको र आफ्नै पार्टीभित्र चरम विरोध साथै विवादमा मुछिएका सरकार प्रमुखलाई नागरिक अभिनन्दन गर्न नहुने भन्दै काँग्रेसले वहिस्कार गरेको हो ।

कांग्रेसले एक अपिल जारी गर्दै नागरिक अभिनन्दनको विरोध र वहिस्कार गर्न नागरिकलाई अपिल समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार