भाऊ बढ्ने आशमा गोदाममै अलैंची

  सुजता सुनुवार
0 Shares

इलाम : भाऊ बढ्ने आशमा इलामका किसानले गोदाममा नै अलंैची थन्काएर राखेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा प्रति मन (४० किलो) को एक लाख तीन हजारसम्ममा विक्री भएको अलैचीको मूल्यमा गिरावट आएकै कारण भाऊ बढ्ने आशमा किसानले अलैचीं गोदाममा नै थन्काएर राखेका हुन् ।

इलामबासीको मुख्य आम्दानीको स्रोत अलैचींलाई मानिन्छ । केही वर्ष यता भाऊ लगातार घटेर मनको (४० किलो) को २६ देखि २९ हजार रुपैँयामा झरेपछि किसान र व्यापारी दुवै प्रभावित भएको इलाम नगरपालिका वडा नम्बर ४ बरबोटेकी किसान हिमादेवी गौतमले बताइन् । किसान गौतमले भनिन्, ‘विगत ५ वर्ष यताबाट उत्पादित अलैंचीको भाऊ आउला की भनेर १२ मन अलैंची गोदाममा नै थन्काएर राखेका छौँ ।’

विगत ५ वर्षदेखि हालसम्मका आफ्नै बगानबाट उत्पादन गरिएका अलंैची अझै गोदाममा नै थन्किएको उनले बताइन् । सलकपुरबाट ३५ हजार मूल्य बराबरको विरुवा किनेर रोपेको अलैंची बेर्नाको उत्पादित अलैंचीबाट हालसम्म कुनै आम्दानी नलिएको किसान हिमादेवीको भनाई छ । उनले सलकपुरे जिर्मले भार्लाङ्ग जातका अलैंची रोपेकी छन् । अझै २ वर्षसम्म भाउको प्रतिक्षा गर्ने भन्दै उनले प्रतिमन ४० हजार रुपैँया भाऊ आए सबै विक्री गर्ने नत्र नबेच्ने उनले बताईन् । ती १२ मन अलंैची आफ्नै बारीमा उत्पादन गरिएको भएकाले २ वर्ष पछाडी सोचे जस्तो भाऊ नआए सबै अलैची गाउँलेलाई बाँडिदिने सोच पनि उनको छ ।

हिमादेवीको जस्तै पीर देउमाइनगरपालिका वडा नम्बर ९ जितपुरका व्यापारी पवन कट्टेलको पनि छ । ३ वर्ष अगाडी प्रतिमन ८० हजार रुपैयाँ लगाएर किनेका अलैंची हालसम्म पनि गोदाममा नै थन्काएर राखेको व्यापारी पवनको भनाई छ । उनका अनुसार, २४ लाख मूल्य बराबरको ६५ मन अलैंची गोदाममा नै थन्किएका छन् । गाउँका अन्य केही व्यापारीले समेत आ–आफ्नो गोदाममा अलैची राखेको बताइएको छ ।

न्युनतम २÷४ मन अलैंची फलाउने कृषकहरुले पनि मनको एक लाख भन्दा बढी हुँदा सिजनको ४÷५ लाख कमाई गर्दै आएका थिए । राम्रो मूल्यमा विक्री भएकाले धेरै किसानले खेतीयोग्य जमिन मासेर व्यावसायिक अलैची खेती गर्न थाले । नेपालका सिमित जिल्लामा हुने अलैची अहिले विभिन्न जिल्लामा गरिन थालिएको छ ।

विगत वर्ष भन्दा अलंैचीको मूल्यमा गिरावट आउँदा व्यापारीहरु मारमा परेकै छन् भन्छन्, अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी । उनका अनुसार नेपालका ५ जिल्लामा मात्र व्यवसायिक खेती गरिने अलैची अहिले २२ जिल्लामा गरिन थालिएको छ । किसानले परिणाम मात्र बढाए गुणस्तर अलैंची उत्पादन गरेनन्, यसले गर्दा पनि अलैचीको भाऊ निरन्तर घट्दो क्रममा छ । खुल्ला सिमानाकाबाट ल्याइएका मलको प्रयोग र अलैंचीका लागि लाभदायिक वनस्पति उतिसको विनाश हुँदै गएकाले गुणस्तर अलैची उत्पादनमा समस्या देखिएको अध्यक्ष खाकीको भनाई छ ।

किन घट्यो अलैचीको भाऊ ?

नेपालमा उत्पादन भएको अलैंचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादित अलैंचीको ९५ प्रतिशत काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ भने बाँकी ५ प्रतिशत अलैंची नेपालमा नै खपत हुने व्यवसायीहरुको भनाई छ । उनीहरुका अनुसार, मसला, सुकमेल,पूजा सामाग्री लगायतमा अलैंची प्रयोग हुने गरेको पाइन्छ । अलैंची उत्पादन नेपालसँगै सिक्किम भूटानमा आधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरिय तयारी अलैंची उत्पादन बढेपछि नेपालबाट भारत निकासीमा कमी भएकाले भाउ त्रमसँगै घट्दै गएको हो । नेपाली अलैंची निर्यातकर्ताहरु भारतमा अलैंची उत्पादन बढेपछि नेपालमा मूल्य घटेको बताउछन् । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ्ग, आसाम, मेघा लगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिष्पर्धात्मक मूल्य दिन नसकेको भारतीय व्यापारीहरु बताउछन् ।

पछिल्लो समय नक्कली अलैंची समेत मिसाएर बेच्दा नेपालको अलैंची निकासी र मूल्यमा कमी आएको अलैंचीको क्षेत्रमा अनुसन्धान गरिरहेका संस्थाहरुको दावी छ । नेपालबाट निर्यात गरिएका अलैंची तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेको पाइएकाले नेपाली अलैंचीको मूल्यमा गिरावट आएको व्यवसायीहरुको आंशका छ । नेपालबाट निर्यात गरिएका अलैंची भारत र पाकिस्तानमा पु¥याइएका अलैंचीमा अलैंची जातको नक्कली बस्तु चुरुम्फा केही परिमाणमा मिसावट हुने गरेको छ । भियतनाम, ग्वाटेमालाबाट अलैँची जस्तै नक्कली सामग्री भारत भित्र्याएपछि अलैँचीको मूल्यमा गिरावट आएको अलैंची व्यवसायी महासंघको आरोप छ ।

गोदाममा राखिएका कस्ता अलैंची सुरक्षित ?

अलैंची उत्पादन कम तर माग उच्च भएको समयमा बढीमा एक लाख तीन हजार र कममा ६० हजारमा खरिदविक्री भएको नेपाली अलैंची यस वर्ष बढीमा २९ कममा २६ हजारमा कारोबार भईरहेको छ । प्रतिमन ९० हजारमा किनेको अलैंची २९ हजारमा बेच्नु पर्ने बाध्यता हुदाँ मारमा परिने व्यवसायीहरु बताउँछन् । मूल्य स्थिर नरहेकाले मूल्य बढ्न सक्छ भन्ने आशमा नेपाली व्यापारीले करिब ४० प्रतिशत अलैंची भण्डारण गरि राखेको माईजोगमाई गाउँपालिका वडा नम्बर १ इलामका व्यवसायी कुशुम दाहालले बताए ।

उनका अनुसार इलामका सबै क्षेत्रमा गएर सबै व्यापारीसँग बुझ्ने हो भने यो प्रतिशत बढ्न पनि सक्छ । परम्परागत अलैंची भट्टीमा सुकाएका अलैंची कम गुणस्तरको हुन्छ । आधुनिक भट्टीमा सुकाइएका तयारी नेपाली अलैंची गुणस्तर राम्रो र लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । भण्डारण गरेर राखिएका अलैंचीलाई पाटको बोरामा राख्ने, घाम नलाग्ने ओसिलो ठाउँमा राख्नाले यस्ता अलैंची वर्षौवर्षसम्म सुरक्षित राख्न सकिन्छ । पलाष्टिकको बोरामा राखिएका अलैंचीमा भने ढुसी आउने, तौल कम हुने, स्वादमा फरक हुने जस्ता समस्या देखा पर्ने किसान हिमादेवी गौतमले बताइन् । उनले तयारी अलैंची भण्डारण गरेर राखेको ५ वर्ष बित्दा समेत हालसम्म जस्ताको तस्तै रहेको यर्थाथता बताइन् ।

अलैची खेती विस्तार हुदैँ

अलैंची विकास केन्द्र पान्दामका अनुसार, जिल्लामा एक हजार छ सय हेक्टर जमिनमा अलैची खेती हुन्छ । नेपालमा भने १७ हजार हेक्टरमा अलैंचीको खेती हुने गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा इलाम जिल्लामा पाँच सय ७६ मेट्रिकटन अलैंची उत्पादन भएको थियो भने नेपालमा १२ हजार पाँच सय आठ अलैंची उत्पादन हुने गरेको तथ्याङ्क छ ।

इलाम, पाँचथर, ताप्लेजुङ्ग, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम, लमजुङ्ग, कास्की, सल्यान, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडी सहित देशका ४० जिल्लामा अलैंची खेती विस्तार हुदै गएको केन्द्रले जनाएको छ । स्थानिय बजारमा कति अन्तराष्ट्रिय बजारमा कति निर्यात हुने गरेको छ भन्ने तथ्याङ्क भने हालसम्म कुनै संघसस्थासँग नभएको अलैची व्यवसायी महासंघ इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार