सरकारी कार्यालयको बोर्ड किरात सिरीजंगा लिपीमा

अंग्रेजी, देवनागरी लिपी र किरात सिरीजंगा लिपीमा संयुक्त रुपमा लेखिएको इलामको माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयको साइन बोर्ड । तस्विर : राम योङहाङ ।

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले सरकारी कार्यालयका साइन बोर्डमा तीनवटा भाषा र लिपीको प्रयोग सुरु गरेको छ । गाउँपालिकाले सरकारी कार्यालयमा पहिलोपटक त्रैभाषिक नीति अवलम्बन गरेको छ ।

गाउँसभाले पारित गरेको त्रैभाषिक नीति अनुसार अन्तरराष्ट्रिय भाषा अंग्रेजी, राष्ट्रिय भाषा नेपाली र स्थानीय भाषा लिम्बू तथा अंग्रेजी, देवनागरी र किरात सिरीजंगा लिपीमा साइन बोर्ड राख्ने अभियान सुरु भएको हो ।

अभियानका सुरुआत वडा नम्बर ५ को एक सरकारी विद्यालयबाट गरिएको छ । सरस्वती माध्यमिक विद्यालयमा त्रैभाषिक वोर्ड राखेर बुधबार अभियानको औपचारिक सुरुआत गरिएको छ ।

माङसेबुङ गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाअध्यक्ष नरेन्द्र राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह योङहाङले संयुक्त रुपमा अभियानको सुरुआत गरे ।

यसअघि अंग्रेजी र नेपालीमा मात्र लेखिएको बोर्ड हटाएर तीनैवटा भाषा र लिपीमा लेखिएको बोर्ड राखिएको छ । त्रैभाषिक बोर्ड राखेर सुरु गरिएको अभियानले अन्य स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत स्थानीय भाषाको संरक्षण र सम्मानका लागि सकरात्मक सन्देश दिएको वक्ताहरुले प्रतिक्रिया दिएका थिए ।

अर्को महिनासम्म सबै सरकारी कार्यालयको बार्ड परिवर्तन गरिने

गाउँसभाको निर्णयअनुसार गाउँपालिकाभरीका सबै सरकारी कार्यालयको बोर्ड तत्काल परिवर्तन गरिनेछ । गाउँपालिकाको कार्यालय, गाउँपालिकाका विभिन्न शाखा, ६ वटै वडा कार्यालय र ३२ वटा सरकारी विद्यालयको बार्ड तत्काल परिवर्तन गरिने सामाजिक विकास समितिका संयोजक नरेन्द्र राईले बताए ।

त्यसका लागि सबै कार्यालयको बोर्ड निर्माणको काम अन्तिम तयारीमा पुगेको संयाजक राईले बताए । ‘गाउँसभाको निर्णयअनुसार गाउँपालिकाभरीका सबै सरकारी कार्यालयको बोर्ड आगामी महिनासम्म परिवर्तन गरिसक्ने तयारीका साथ लागेका छौं’ संयोजक राईले भने, ‘सुभाम्भ विद्यालयबाट गरिएपनि गाउँपालिका, सबै वडा कार्यालय र सरकारी विद्यालयमा त्रैभाषिक बोर्ड राख्नेछौ ।’

उनका अनुसार स्थानीय भाषाका रुपमा भने लिम्बू र वान्तवा प्रयोग गरिनेछ । जातीय बाहुल्यताका आधारमा वडा र वडाका सरकारी कार्यालयमा लिम्बू र वान्तवा भाषा प्रयोग गरिने संयोजक राईले बताए ।

पंचायतकालमा लिम्बू भाषा र लिपी प्रयोगमा अवरोध

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह योङहाङले यसअघि तत्कालिन सरकारले स्थानीय भाषा र लिपी प्रयोग गर्दा प्रशासनले हस्तक्षेप गरेको स्मरण गरे । २०४६ सालमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको ३५ औं जन्मोत्वको प्रचार सामग्री लिम्बू भाषा र किरात सिरीजंगा लिपीमा प्रकाशन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको बताए । ‘वितको भाषिक, साँस्कृति आन्दोलनलाई स्मरण गर्दा दुःख लाग्छ । त्यतिबेला हामीलाई साम्रदायिकताको आरोप लगाउँदै कार्यक्रम समेत अवरोध गर्ने गर्दथ्यो’ विगतका स्मरण गर्दै योङहाङले अगाडि भने, ‘अहिले आफ्नै हातबाट त्यही भाषा र लिपी प्रयोग गरिएको बोर्ड राख्ने अवसर पाए । पुर्नजन्म पाएको आभास भएको छ ।’

संविधान प्रदत्त अधिकारको उपयोग

संविधानले प्रदत्त गरेको भाषिक अधिकारको उपयोग गर्दै बाहुल्य जनसंख्याको आधारमा गाउँसभाले त्रैभाषिक लिपीमा बोर्ड राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङले बताए । नेपालको संविधान २०७२ को भाग १ को धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने उल्लेख गरिएको छ ।
यसअघि किरात याक्थुङ चुम्लुङ र लिम्बू विद्यार्थी मञ्चले अरुण पूर्णको ९ जिल्लाका सबै सरकारी साईनवोर्डमा अंग्रेजी, नेपाली र लिम्बू भाषा तथा किरात सिरीजङ्गा लिपीमा उल्लेख गर्न माग गर्दे आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार