इलाम : आपतकालीन तयारी तथा प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम मंगलबार इलाममा सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा उन्नती परियोजना अन्तरगत केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपाल ईलामको आयोजनामा तालिम संचालन भएको हो । तालिममा ईलाम, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर र ताप्लेजुङ्गका उन्नती परियोजना अनुदान प्राप्त चिया सहकारी, मझौला तथा साना चिया उद्योगी गरी २२ जनाको सहभागीता रहेको थिया्े ।
तालिममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य, आपतकालिन अवस्थामा आगो र त्यसको सिद्धान्तहरु, औधोगिक क्षेत्रका आगो तथा त्यसको नियन्त्रण, कार्यस्थलमा प्राथमिक उपचार, सुरक्षा समिति श्रम ऐनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावधान तथा कार्यस्थलमा तनाव व्यवस्थापन सम्बन्धी छलफल भएको थियो । तालिमका सहभागीहरुलाई माधवराज विष्टले सहजीकरण गरेका थिए ।
केन्द्रीय चिया सहकारी संघले यसअघि २ चरणमा ४३ जनालाई सोही तालिम प्रदान गरिसकेको छ । संघले नेपालको चिया क्षेत्रको समग्र विकास र विस्तारका लागि विभिन्न साझेदार संघ संस्था तथा सहयोगी निकायसँग समन्वय गरि उत्पादन, प्रशोधन, बजारीकरणका साथै चिया क्षेत्रमा सकरात्मक वातावरण निर्माण गर्नका लागि पैरवी कार्य गर्दै आएको छ ।