भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना

एजेन्सी : भारतको पञ्जाब राज्यको अमृतसर सहरनजिकै विजयादशमीकाे दिन रावणकाे पुत्ला जलाउन जम्मा भएकाे भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना भएको छ ।

शुक्रबार राति भएकाे साे दु:खद घटनामा परी हालसम्म कम्तीमा पनि ६२ जनाकाे मृत्यु भएकाे र १५० भन्दा बढी घाइते भएकाे बिबिसी हिन्दीले लेखेकाे छ ।

हिन्दुहरूको चाड दशैँको अवसरमा अमृतसरमा रावणको पुत्ला दहन मेला लागेको थियो । साे मेला रेलकाे लिकनजिकै थियाे । अचानक अाएका दुर्इ रेल मेला भरिरहेकाहरूकाे भीडमाथि कुदेपछि भागाभागकै क्रममा झन ठूलाे क्षति भएकाे पञ्जाब प्रहरीले जनाएकाे छ ।

अमृतसरका प्रहरी कमिश्नर सधांशु शेरख श्रीवास्तवले मृतकको संख्या ६२ पुगेको र दुर्घटनामा १५० जनाभन्दा बढी घाइते भएकाे पुष्टि गरेका हुन् । पञ्जाब राज्यका स्वास्थ्यमन्त्री ब्रह्म महिन्द्राले दुई अस्पतालमा करिब ५० शव राखिएकाे बताएका  छन् ।

पुत्ला जलाउँदा दन्किएकाे आगोको रापले गर्दा भीड पछि हट्ने क्रममा रेलकाे लिकमै मानिसहरु जम्मा भएका थिए । एक तर्फबाट रेल आएपछि भागेर अर्को रेलवेमा पुग्दा उक्त बाटोमा पनि रेल नै आएपछि भीड कच्यककुचुक भएकाे जनाइएकाे छ ।

यसरी दुई रेलले स्थानीयकाे भीडलार्इ किच्न पुगेकाले क्षति अकल्पनीय भएकाे हो । घटनापछि साे क्षेत्रमा सरकारको व्यापक विरोध भइरहेको छ ।

अमृतसर हादसा

घटनालगत्तै भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुवै घटनालार्इ दुःखद भनेका छन् ।

यसैबीच, पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले समेत घटनाप्रति दु:ख व्यक्त गर्दै साे दु:खद घटनामा परी मृत्यु हुनेका परिवारलाई जनही रु पाँच-पाँच लाख राहत दिने घोषणा गरेका छन् ।

हेर्नुहाेस् भिडियाे –

News24nepal बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार