तराईका पर्यटक पहाडमा

  नयाँ बुलन्द  236 पटक हेरिएको

धनकुटा : चिसो मौसम सुरु हुने समय आउनै लाग्दा तराईमा गर्मी अझै निकै छ। असोज पहिलो साता हुँदा पनि दिनभरि लाग्ने टण्टलापुर घामले तराईको जनजीवन प्रभावित बनाएको छ । बाटोमा हिँड्दा उखरमाउँदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै बस्न बाध्य छन्। तराईमा अधिकतम ३६ डिग्री सेल्सियस पुगेको तापक्रम न्यूनतम पनि २५ डिग्रीसम्म रहेको छ ।

तराईको गर्मीका कारण पूर्वी पहाडका लागि गतिलो अवसर बनिरहेको छ । तराईमा भइरहने गर्मीका कारण पूर्वी पहाडका पर्यटकीय स्थल चम्किरहेका छन् । तराईका जिल्लामा गर्मीले आजित भएकाहरु सामान्य फुर्सद मिल्नासाथ पहाडतिर चढ्ने गरेका छन् । विशेष गरेर सार्वजनिक बिदाका दिन पूर्वी पहाडका पर्यटकीयस्थल भरिभराउ हुन्छन् ।

जलवायु परिवर्तनले हरेक वर्ष गर्मी बढिरहँदा पहाडी क्षेत्रमा भने नयाँ–नयाँ पर्यटकीयस्थल थपिँदै छन्। गर्मी मौसममा सबैभन्दा धेरै मानिसको भिड हुने पहाड भनेको धनकुटाको भेडेटार र इलामको अन्तु, फिक्कल र कन्याम नै हो। अहिले भेडेटार ‘चिसो खान’ आउनेहरुले खचाखच छ। भेडेटार चोक, शंखेश्वर मन्दिर, नाम्जे, आत्माघर जताततै चिसोको स्वाद लिँदै सेल्फी खिच्नेहरु धेरै मात्रामा भेटिन्छन्। पूर्वी तराई र भारतका विभिन्न ठाउँबाट आउने पर्यटककै कारण भेडेटारका सयभन्दा बढी होटल, रेस्टुरेन्टको व्यवसाय धानिएको छ।

भेडेटारबाट नौ किलोमिटर धनकुटातर्फ ओरालो झरेपछि पुगिने नमस्ते झरनामा पनि यो गर्मी मौसममा नुहाउने र रमाउनेको उस्तै भीड छ। झरनाको प्रवेशद्धारमा पर्ने नमस्ते गोलाईदेखि नै होटलहरुको पनि भिड बढ्न थालेको छ। चिसोमा रमाउनेहरुका लागि धनकुटाको हिले, सिधुवा, तेह्रथुमको बसन्तपुर, लसुने तराईका पर्यटक आकर्षण गराउने केन्द्र बनिरहेका छन।

सोही क्षेत्रमा पर्ने तीनजुरे मिल्के जलजलेमा पनि गर्मी सुरु भएदेखि नै आन्तरिक पर्यटक बाक्लिन्छन्। २८ प्रजातिका गुराँस एकै क्षेत्रमा पाइने यो ‘गुराँसको राजधानी’मा पनि घुम्ने धेरै हुन्छन। होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टका अनुसार यतिबेला चिसो मौसमका ठाउँमा रहेका अधिकांश होटल भरिभराउ छन्। पहाडी क्षेत्रको पनि बाह्रै महिना चिसो हुने ठाउँका होटल व्यवसाय घुम्नेहरु धेरै आउने हुँदा व्यवसाय राम्रो रहेको छ।

यस्तै, इलामको फिक्कल, कन्याममा चियाबगानमा रमाउन पुग्ने पनि धेरै छन यतिबेला। पाँचथरको रवि, फिदिम हुँदै ताप्लेजुङको पाथिभरा मन्दिरसम्म दर्शन गर्न पुग्ने पनि बाक्लै भेटिन्छन। उदयपुरको रौता पोखरीमा पनि गर्मी छल्न पुग्ने तराईवासीको संख्या बढिरहेको छ। पर्यटकलाई विभिन्न स्थानमा घुमाउँदै आएको छ।

ट्राभलिङ धरानका निर्देशक वासुदेव बरालको अनुभव छ, ‘आन्तरिक पर्यटकले नै पूर्वमा पर्यटकीय गन्तव्य धानिएका छन। सरकारले लगानी गर्ने हो भने विदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति हुन्छ।’ गर्मी बढेसँगै धनकुटाको मूलघाटस्थित तमोर नदीबाट सप्तकोशीको चतरासम्र्म याफ्टिङ गर्नेको संख्या पनि बढ्दो मात्रामा रहने गरेको छ। तर, यो समयमा बाढीले जोखिम बढि हुने हुनार्ले याफ्टिङ भने बन्द गरिएको छ।

पर्यटकलाई आकर्षण गर्न साइक्लिङ पनि पूर्वको रमाउन थालेको दुईचार वर्ष बितिसक्यो। विशेष गरी धरानमा साइक्लिङका गतिविधि भइरहेका छन्। सरकारले हरेकवर्ष आन्तरिक पर्यटनको विकास गर्ने नीति लिएको हुन्छ तर पूर्वाधार तयार गर्न भने सरकारले सहयोग नगरेको पर्यटन व्यवसायीको गुनासो छ। हिले पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्षसमेत रहेका विष्ट भन्छन्, ‘हामीले विदेशीको मुख ताकेर बस्नुभन्दा आन्तरिक पर्यटन विकासमा स्थानीयवासी र स्थानीय निकाय जुट्ने हो भने छिटो प्रगति हुन्छ।’

पर्यटक आकर्षित गर्न ठाउँ ठाउँमा स्तम्भ

धनकुटाको हिले, सिधुवा, तेह्रथुमको बसन्तपुर, लसुने तराईका पर्यटक आकर्षण गराउने अर्को प्रयास भइरहेको छ। पूर्वका पहाडी सहरहरुमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरु निर्माण भइरहेका छन। स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने एक प्रकारको लहर नै चलेको पाइन्छ।

सुनसरीको धरानबाट कोशी पहाडमा उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छ। पूर्वको प्रमुख पर्यटकीय केन्द्र धनकुटाको भेडेटारमा शंख र फाल्गुनन्दको शालिक, हिलेमा तोङ्वा, छथर जोरपाटीको हात्तिखर्कमा हात्ती, सिधुवा बजारमा काउलीको स्तम्भ, तेह्रथुमको वसन्तपुरमा गुराँसको रुख, लसुनेमा लसुनको पोटी, म्याङलुङमा बिरालो, सक्रान्ति बजारमा पनि फाल्गुनन्दको स्तम्भ र संखुवासभाको मुढेशनिश्चरे बजारमा यलम्बरको स्तम्भ बनाइएका छन्।

पर्यटक आकर्षण र पहिचान नै मुख्य उद्देश्य

यस्तै, धनकुटा बसपार्कमा धनकुटाको पहिचान दिलाउने ओखलमा ढिकीले धान कुटी रहेको र धनकुटा ३ कागतेमा कागतीको स्तम्भ बनाउने तयारी भइरहेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए। विभिन्न अवसरमा यी बजारमा आइपुग्ने आगन्तुकलाई त्यहाँको पहिचानको बारेमा स्तम्भमार्फत सजिलै जानकारी होस् र पर्यटक पनि आकर्षित हुन भन्ने उद्देश्यले स्तम्भहरु निर्माण गरिएको प्रमुख तामाङको भनाइ छ।

९ लाख रुपैयाँमा देशकै ठूलो तोङ्वाको स्तम्भ

पूर्वी तराईबाट कोसी पहाडको पहिलो गन्तव्य पनि रहेको भेडेटारमा शंखको आकृति बनाइएको छ भने फाल्गुनन्दको सालिक पनि राखिएको छ। कोदोबाट बनाइएको स्वादिलो तोङवाका कारण चिनिएको धनकुटाको हिलेमा सहयात्रा युवा क्लबले ९ लाख रुपैयाँमा देशकै ठूलो र आकर्षक तोङ्वाको स्तम्भ निर्माण गरेको छ । यही तोङवाका कारण बाहिरबाट आउनेले हिलेले तोङवाको सहर भन्ने पहिचान बनाएको धनकुटा नगरपालिकाका प्रमुख तामाङले बताए।

पार्क निर्माणमा १२ लाख लगानी

हिले बसपार्कमा निर्माण गरिएको कलात्मक तोङवा हिले बजारमा पहिलोपटक आउनेका लागि आकर्षण लाग्ने र फोटो खिच्नेको भिड देख्न सकिन्छ। यस्तै हिले बजारकै पाख्रिबास जाने बाटोमा बुद्धको मूर्तिको निर्माण थालिएको छ। पानीको फोहोरासहित रहने त्यस स्थानमा बुद्ध धर्मालम्बीको धेरै भएकाले पहिचानको बनाउन लागिएको धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङले  बताए।

वडा कार्यालयको ५ लाख र स्थानीयको अन्य गरी १२ लाखको लगानीमा पार्क निर्माण भइरहेको तामाङले बताए। धनकुटाकै छथर जोरपाटी गाउँपालिकाको हात्तिखर्कमा हात्तीको स्तम्भ बनाइएको छ। कुनैबेला यो क्षेत्र हात्तीको चरनक्षेत्र रहेकोले हात्तिखर्क नाम रहेकाले हात्तीको स्तम्भ बनाइएको स्थानीय तोर्णदीप तिगेलाले बताए।

करिब तीन लाखको लगानीमा यो स्तम्भ बनाइएको उनले बताए। छथर जोरपाटी गाउँपालिकालाई नै कृषिको पकेट क्षेत्रका रुपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ। प्रधानमन्त्री आधुनिक कृषि जोन सञ्चालनमा रहेको सिधुँवामा स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको अगुवाईमा करिब ७ लाख रुपैयाँ खर्च गरेर काउलीको स्तम्भ निर्माण गरिएको हो। काउलीको स्तम्भ झापाको दमकका एक कलाकारले बनाएको क्लबका अध्यक्ष दिवेश खड्काले जानकारी दिए।

स्तम्भ निर्माणका लागि साबिक परेवादिन गाविसले २ लाख, हालको ६ नम्बर वडा कार्यालयले १ लाख ९० हजार रुपैयाँ उपलब्ध सहयोग गरेका थिए भने बाँकी रकम कृषक समूह, कृषि सहकारी संस्था र सिधुँवा बजारवासीबाट संकलन गरिएको थियो। सिधुँवा बजारमा तरकारी त्यसमा पनि काउलीको खपत बढी हुने र काउलीको संकलन साथै निकासी हुने मुख्य बजारको रूपमा पहिचान बनाएकाले काउलीको स्तम्भ सिधुँवावासी बताउँछन्। यो स्तम्भ निर्माणको अन्तिम चरणमा पुगेको छ।

यस्तै छथर जोरपाटीको सदरमुकाम जोरपाटी बजारमा बन्दाकोपीको स्तम्भ बनाउने तयारी भइरहेको छथर जोरपाटी गाउँपालिका(२ का वडाध्यक्ष कृष्ण मगरले जानकारी दिए। एकै ठाउँमा २८ जातिका गुराँस फुल्ने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्वार मानिने तेह्रथुमको वसन्तपुरमा निर्माण गरिएको फूलिरहेको गुराँस स्तम्भले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ। स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर बाह्रै महिना फूलिरहेको गुराँसमा रमाउन थालेको निर्माण समितिले जनाएको छ।

स्थानीयले रकम संकलन गरी करिब १० लाख रुपैयाँको लागतमा स्तम्भ बनाएको बताइएको छ। गुराँस भूमि यहिबाट सुरु भएको झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको निर्माण समितिले जनाएको छ। बसन्तपुरलाई गुराँसको सहर बनाउने लक्ष्यका साथ पर्यटक आकर्षित गर्न स्तम्भ बनाइएको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले  बताए। पर्यटक आकर्षित गर्नकै लागि तीनजुरे पहाड फेदीमा रहेका ढुंगालाई कुँदेर बाघ, कछुवा, गोही, भ्यागुतो, छेपारो, मृग, सर्प, हिमाली याक, चौंरी गाई, हिमाल, सीताले लगाएको साडी, जाँतो लगायतका कलात्मक मूर्ति बनाइएको छ।

लालीगुराँस नगरपालिकाकै लसुने बजारको बीचभागमै लसुनको पोटी आकारको आकर्षक स्तम्भ छ। स्थानीय किसानले लसुन खेती गरेर बिक्रीका लागि बजारको विकास यो ठाउँमा भएपछि बजारको नाम नै लसुने रहेको भनाई रहेको छ। त्यहि पहिचान झल्काउन र पर्यटक आकर्षित गर्न उदेश्यले स्तम्भ निर्माण गरिएको निर्माण समितीका अध्यक्ष धर्मराज खड्काले बताए।

यस्तै कोशी राजमार्गमै रहेका तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा पनि पहिचान झल्काउन विरालो स्तम्भ निर्माण गरिएको छ। ‘म्याङलुङ’ शब्द लिम्बु भाषाबाट आएको र यसको ऐतिहासिक शाब्दिक अर्थ विरालोसँग जोडिएकाले बिरालो स्तम्भ नै निर्माण गरेर पर्यटक आकर्षित गर्न थालिएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमले जनाएको छ। थाहा खबर बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार