इलाम : पश्चिमी इलामको माङसेबुङ गाउँपालिका क्षेत्रमा पालिएको पशुमा खोरेत रोगको संक्रमण देखा परेको छ । माङसेबुङ-१ गजुरमुखी र माङसेबुङ-२ इभाङको तल्लो क्षेत्रका किसानहरुले पालेको पशुमा खोरेत रोगको संक्रमण देखिएको हो ।
माङसेबुङ-१ गजुरमुखी धाम, बजार क्षेत्र, पुल एरिया र तोभाङ आसपास तथा माङसेबुङ-२ का फेवाखोला बेंसी, सातबिसे, रत्नबसी आसपासमा पालिएको पशुमा खोरेतको संक्रमण देखिएको माङसेबुङ गाउँपालिका पशुसेवा शाखा प्रमुख महेशकुमार राईले बताए ।
पशुका चारैवटा खुट्टा, मुख तथा गिजामा घाउखटिरा आउने, ज्वरो आउने, र्याल काढ्ने, घाँस नखाने जस्ता लक्षण देखा परेको शाखा प्रमुख राईले बताए । त्यस क्षेत्रका किसानले पालेका ४० बढि राँगा, भैसी तथा गाईगोरुमा यो लक्षणहरु देखिएको बताईएको छ ।
त्यक्ष क्षेत्रमा पहिलोपटक खोरेत रोगको संक्रमण देखापरेको हो । अन्य क्षेत्रमा समेत संङक्रमण फैलन नदिन गाउँपालिकाले पशु प्राविधिकहरुको टोलिलाई संक्रमित स्थलमा खटाएको छ । सङक्रमित पशुको आवश्यक उपचार भइरहेको पशुसेवा शाखा प्रमुख राईले बताए । ‘यो एक प्रकारको महामारी हो । अन्य क्षेत्रमा फेलियो भने झन् खतरानक हुन्छ’ राईले भने, ‘हामीले संक्रमण नियन्त्रणका लागि रोकथामको प्रयास गरिरहेका छौं ।’ संक्रमित पशुलाई आवश्यक खोप र औषधि वितरण गरेको नले बताए ।
भित्री मधेसबाट ल्याइएका पशुबाट यस क्षेत्रमा सो रोग सरेर आएको हुनसक्ने पशुसेवा प्रमुख राईले बताए । त्यस क्षेत्रका किसानले जिल्लाको दानाबारी, चुलाचुली, महमाई तथा झापाको खुदुनाबारीबाट वीउ प्रयोजनका लागि राँगा ल्याउने गरेका छन् ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले त्यस क्षेत्रमा देखिएको नयाँ रोग भएकाले पूर्व तयारी नरहेपनि प्रकोप फैलिएपिछ रोकथामका लागि गाउँपालिकाको टिम सक्रिय भएको बताए ।
खोरेत रोग के हो ?
खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बँदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखापर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएता पनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावर तथा बाहिरी वातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।
यसकारण खोरेत रोगको विषाणु अति खतरनाक मानिन्छ
खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड्डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।
छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट हेर्दा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ । एक प्रकारको खोरेत विषाणुले महामारी फैलिए पछि तत्कालै अर्को प्रकारको खोरेत विषाणुले रोगी जनावर पुनसंक्रमित हुन सक्छ । अचम्मको कुरा यो छ कि एक जातको खोरेत विषाणुबाट प्रतिरोधात्मक क्षमता प्राप्त गरिसकेको जनावर अर्को जातको खोरेत विषाणुको प्रतिरोध गर्न सक्दैन ।
यस्तो हुन्छ खोरेत प्रकोपमा विभिन्न जनावर जातको भूमिका
गाईभैसीमा यो रोगको स्पष्ट लक्षण देखा पर्दछ, भेडाबाख्रामा संक्रमण हुने तर लक्षणको आधारमा ठम्याउन नसकिने हुन्छ भने हामीकहाँ खसीबोका ओसारपसारका कारण नयाँ ठाँउमा खोरेत देखा पर्ने गरेको छ ।
बंगुर उग्राउने जनावर जस्तो रोगाणुवाहक हुन सक्दैन तर एउटा रोगी गाईको तुलनामा एउटा रोगी बंगुरले ३ हजार गुणा बढी खोरेत विषाणु उत्पादन गर्न सक्छ ।
गौगोटे र पीपीआरमा रोग लागेर निको भएको जनावरको शरीरमा रोगाणु हुदैन तर खोरेत लागेर निको भएको भान परेका गाइभैसीमध्ये ५० प्रतिशतको घाँटिभित्र खोरेत विषाणु लामो समयसम्म विद्यमान रहन्छ । खोरेत विषाणु गाईभैसीको घाँटिभित्र ६ महिना र भेडाबाख्राको घाँटिभित्र २ वर्षम्म जीवीत रहने, स्वभावमा परिवर्तन हुन सक्ने भएकोले रोगको प्रकोप भइरहन सक्छ ।
यसरी सर्दछ खोरेत
प्रत्यक्ष सर्म्पर्क, हावा, हावापानी, रोगी जनावरको मासु, काँचो दुध र खेरेत विषाणुले दुषित सामान, गाडि आदिको माध्यमबाट सर्दछ । बदली भएको समय लामो दुरी पार गरी खोरेत विषाणुले महामारी फैलाउन सक्छ । कुनै मानिस रोगी जनावरको सर्म्पर्कमा रहेको अवस्थामा निजको स्वास नलिभित्र २४ घण्टा खोरेत विषाणु बाँच्न सक्छ र रोग र्सार्न सक्छ ।
यस्तो छ खोरेत रोगको स्थिति
खोरेत रोग नेपालमा बाह्रै महिना तराई, पहाड र हिमाली जिल्लाहरुमा देखा परिरहन्छ र पशु आवतजावत नै रोग प्रकोपको मूल आधार हो । खोरेत विषाणु ७ प्रकारका हुने भएता पनि नेपालमा ओ, ए, एशिया वानको कारण महामारी फैलिने गरेको पाइन्छ । केहि समय यता पान एसिया टोपो टाइप ओ भाइरसका कारण वयस्क पशुहरुमा समेत विरामीदर र मृत्युदर बढि देखिएको छ र घातक रुपमा महामारी फैलिने गरेको पाइन्छ ।
यसरी थाहा पाइन्छ खोरेत रोग देखा परेको अवस्था
एकैपटक गाइ, भैसी, बंगुरमा रोग देखा पर्ने, स्वाट्ट दूध सुक्ने, खोच्याएर हिड्ने भएमा खोरेत रोग फैलिएको अनुमान गर्न सकिन्छ । विरामी जनावरमा निम्न बमोजिममका लक्षणहरु चरनबद्ध रुपमा देखा पर्दछन् । सुरुमा कडा ज्वरो आउने, झोक्य्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने, कम उग्राउने गर्दछ । दूधालु गाई वा भैसीले अचानक दूध दिन छोड्छ । विरामी जनावरले खाने फुलको सेतो भाग जस्तो लस्सादार र्याल काढ्न सुरु गर्छ । मुख भित्र गिजा, जिब्रो तथा बंगुरको थुतुनोमा ससाना पानीले भरीएका फोकाहरु देखिन थाल्छन् जुन एक दिन पछि फुट्छ र छाला उप्की आलो घाउ जस्तो देखिन्छ । खुरको काप, कल्चौडो र थुनमा समेत फोका र घाउ देखिन्छ । खुर पाक्ने र औसा पर्न सक्छ । विरामी जनावरको खुट्टा सुनिन्ने र खोच्याउने गर्दछ ।