भद्रपुर : मेची भन्सार कार्यालयको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयले स्तरोन्नतिका साथ सञ्चालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसँगै सो कार्यालय सञ्चालनमा आएको हो । १ साउनदेखि स्तरोन्नति भई भन्सार कार्यालयको दर्जा पाएको भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुईवटा भन्सार कार्यालय भएका छन् ।
सो भन्सार कार्यालय उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताए । अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन् ।
बंगलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उनले भने ‘नेपालसँग विद्युत् किन्न बंगलादेश तयार छ, तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको छ ।’ उनले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताए ।
मन्त्री डा. खतिवडाले छिमेकी देश भारतसँग पनि यो नाकालाई सुचारु र समृद्ध बनाउनका लागि छलफल र वार्ता गर्ने बताए । उनले भद्रपुर भन्सारलाई सक्रिय र व्यस्त नाकाका रूपमा स्थापित गर्नका लागि सबैको सहयोगको खाँचो रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भारतको विहार र बंगाल राज्य, बंगलादेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमिनको आवश्यकता रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । आजको सौर्य दैनिकमा खबर छ ।