इलामका चन्द्रप्रसाद ९ वर्षदेखि साउदीमा बन्धक

भर्खरै आए परिवारको सम्पर्कमा

  नयाँ बुलन्द
0 Shares

इलाम : कम्पनीले तोकेका क्षतिपूर्ति रकम तिर्न नसकेपछि इलामका एक युवा विगत ९ वर्षदेखि साउदी अरेबियामा बन्धक जीवन बिताईरहेका छन् । देउमाई नगरपालिका ९ जितपुरका चन्द्रप्रसाद परियार साउदीको किङडम अफ साउदी अरेबीया कम्पनीमा बन्धक जीवन बिताउन बाध्य छन् ।

बैदेशिक रोजगारीका शिलशिलामा २०६६ मा ड्राइभिङ काममा साउदी पुगेका चन्द्रप्रसादले चालएको गाडि दुई महिनामा नै दुर्घटनामा परेको थियो । गाडि दुर्घटनामा परेपछि कम्पनीले उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र नेपाली ३२ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो ।

चन्द्रप्रसादले २ वर्ष कैद त भोगे । तर क्षतिपूर्ति तिर्न सकेनन् । क्षतिपूर्ति तिर्न नसकेपछि कम्पनीमा नै बन्धक जीवन विताउन बाध्य बने । ‘९ वर्षअघि विदेश गएका उतै हराए । न चिठी आयो, न त टेलिफोन नै । कता हरायो कता हरायो भन्ने हामीलाई लागेको थियो’ चन्द्रप्रसादका काका खेम (दुर्गाप्रसाद) परियारले भने, ‘त्यहाँका नेपालीमार्फत बल्ला थाहा भयो । उनी त दुई महिनामा नै बन्धक भएछन् ।’

कम्पनीको क्षतिपूर्ति वापतको २८ लाख रुपैयाँ चाँही त्यहाँका नेपालीले संकलन गरेर कम्पनीलाई बुझाइसकेको चन्द्रप्रसादका काका खेमले जानकारी दिए ।

बाँकी ४ लाख रुपैयाँ तिर्न नसकेकै कारण अहिलेपनि चन्द्रप्रसाद कम्पनीमा बन्धक बनेका छन् । उक्त रकम कम्पनीले असुल्न निजलाई ९ वर्षदेखि विना पारिश्रमिक कामदारको रुपमा बन्धक बनाएको परिवारले जनाएको छ ।

कम्पनीमा बन्धकमा परेको चन्द्रप्रसादलाई घर फर्काउन इलाममा आर्थिक संकलन अभियान सुरु भएको छ । चन्द्रप्रसादका काका खेम परियारको संयोजकत्वमा समिति बनाई रकम संलकन सुरु गरिएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको परियार परिवारले सहयोगका लागि जिल्लाबासीसँग याचना गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार