स्थानीय तहमा प्रभावकारी बन्दै बैंकिङ सेवा

  सुजता सुनुवार
0 Shares

इलाम : इलामका स्थानीय तहमा बैंकको स्थापना भएसँगै बैंकिङ्ग सेवा प्रभावकारी बन्दै गएको छ ।

एक वर्षसम्म बैंकिङ कारोबारका लागि सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समिति, सामाजिक सुरक्षा भत्ताका लाभग्राही समस्यामा परेका थिए । स्थानियमा नै बैंकको कारोबार हुने व्यवस्था मिल्दै गएपछि भने सेवाग्राही, स्थानियबासी र कर्मचारी समेत हर्षित भएका छन् ।

स्थानीय तहबाट जनतालाई सहज तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाका १० स्थानिय तहमा नै पछिल्लो समय बैंक स्थापना भएका छन् । प्रति तहमा एकएक वटा बैंकको स्थापना हुँदा दिन नै माया मारेर कारोबार गर्नु पर्ने बाध्यता जनप्रतिनिधी , कर्मचारी र स्थानियबासीका लागी हट्दै गएको रोङ्ग गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताइन् ।

सबै जनप्रतिनिधिको खाता खोल्ने कार्य सकिएको छ । सामाजिक सुरक्षा भक्ता, शिक्षक तलव जस्ताको भुक्तानी गर्ने कार्य समेत गाउँपालिकाबाटै हुने व्यवस्था मिलाएका छौँ । स्थानिय तहमा नै बैंकिङ्ग सेवा उपलब्ध हुँदा स्थानियलाई समेत सहज भएको छ ।

पहिले सेवा लिन र दिन निक्कै गाह्रो थियो । एक दिनको समय नै माया मारेर गाडीमा दुई घण्टासम्मको यात्रा गर्नु पर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेर गएको उपाध्यक्ष राईको भनाई छ ।
उनका अनुसार रोङ्ग छिमेकी जिल्ला झापाको सिमानासँग जोडिएको गाउँपालिका भएकाले गाडीमा ४५ मिनेटको यात्रा गरेर झापाका बैंकबाट

सेवा लिने स्थानियहरु यस गाउँपालिकामा प्रसस्त पाइन्छन् । अहिले भने स्थानिय तहमा नै सेवा लिन पाईने भएपछि स्थानियले समेत मेघा बैंकमा नै खाता खोल्न थालेका छन् ।

यस्तै अर्को गाउँपालिका इलामको माङ्गसेबुङ्ग गाउँपालिकालाई समेत स्थानिय स्तरमा नै बैंक खुलेपछि कारोबारमा सहज भएको छ । माङ्सेबुङ्गमा सिटिजन बैंक खुलेको छ । विगतमा देऊमाई नगरपालिकाको मंगलबारे, झापा, इलाम नगरपालिकाबाट बैङ्किङ्ग कारोबार गर्नुपर्ने बाध्यता थियो । अब त्यो समस्या हटेकाले समयको वचत भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको भनाई छ ।

उनले भने, ‘भौगोलिक विकटता र झापासँग सिमाना जोडिएकाले गाउँपालिकामा एउटा मात्र बैंकले सबैको लागी पर्याप्त हुन्न । निजी बैंक भन्दा पनि सरकारी बैंक स्थापना गरेर अन्य थप एक÷दुई वटा थप्न पाए सबैको पहुँचसम्म सहज सेवा पुग्ने थियो ।’

यसैगरी माईजोगमाई गाउँपालिकाका स्थानिय दिपेन लिम्बु भन्छन्, ‘स्थानिय तहमा बैंकिङ्ग सेवा सुरु भएपछि समय सँगसँगै पैसाको समेत वचत भएको छ । पहिला बैंकको सेवा लिदा दुई दिन नै समय खेर जान्थ्यो । अहिले एक घण्टामा पैदल यात्रा गर्दा नै सेवा लिन पाएका छौँ । र्बैकसँगै मनी ट्रान्सफर आईएमई समेतको सुविधा पाएका छौँ । यसले समय र रकम दुवैको वचत गरेको छ ।’

जिल्लास्थित फाकफोकथुम गाउँपालिकामा सानिमा बैंक, चुलाचुली गाउँपालिकामा एमएमबि बैंक, सन्दकपुर गाउँपालिकामा प्रभु बैंक, माईनगरपालिकामा सानिमा बैंक, माईजोगमाई गाउँपालिकामा सिभिल बैंक स्थापना भएका छन् ।

स्थापना भएका बैंकमा खाता खोल्ने कार्य प्रत्येक स्थानिय तहले एकसाथ शुरु गरेको छ । विस्तारै अन्य नगरपालिका, छिमेकी जिल्लाबाट लिदै आएको सेवालाई छोडेर स्थानिय तहमा नै सेवा लिने र दिने योजनाका साथ अगाडी बढीरहेको स्थानिय तहका जनप्रतिनिधिको भनाई छ ।
हाल निजि र सरकारी गरी जिल्लाको इलाम नगरपालिकामा १५ वटा, सूर्योदय नगरपालिकामा १०, र देउमाई नगरपालिकामा ३ वटा बैंक सञ्चालन भईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार