नेपाल ग्यासको ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा

काठमाडौं : नेपाल ग्यासले ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ ।

नेपालको सबैभन्दा पूरानो ग्यास उद्योग नेपाल ग्यासले एलपी ग्यास कम्पोजिट सिलिन्डर बजारमा ल्याएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सिलिन्डरको बजार प्रवेश गराएका हुन् ।

यो आगोले पनि विस्फोट नहुने पूर्णसुरक्षित रहेको दाबी गरिएको छ ।

यो पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभलसमेत सजिलै जाँच्नसक्ने जनाइएको छ ।

यो अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेन्डलीसमेत मानिएको छ । सिलिन्डर १४.२ र ५ केजीमा उपलब्ध छन् ।

१४.२ किलोको ९२२५ रुपैयाँ र ५ किलोको ६९९५ रुपैयाँ बजार मूल्य कायम गरिएको छ ।

उद्योगका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल ग्यास आफ्नो समूहले किनेपछि पूर्णस्वचालित बनाएको र उपभोक्तालाई सुरक्षित ग्यास दिने उद्देश्यले कम्पोजिट सिलिन्डर बिक्री सुरु गरेको बताए ।

कार्यकारी निर्देशक गोकुल भण्डारीले पनि उद्योगले पूर्णगुणस्तरीय सिलिन्डर उपलब्ध गराउँदै आएकोमा यी सिलिन्डर थप भरपर्दो रहेको दाबी गरे ।

यस उद्योगको प्रत्येक सिफ्टमा १२ हजार सिलिन्डर उत्पादन गर्ने र उपभोक्ताको मागअनुसार एक हजार टनसम्मको भन्डार गर्ने क्षमता रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार