‘समावेशी लोकतन्त्रका लागि पूर्ण समावेशी सञ्चार’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औं स्थापना दिवस

नयाँ बुलन्द

इलाम : समावेशी लोकतन्त्र संस्थागत गर्न पूर्ण समावेशी सञ्चार आवश्यक रहेको इलाममा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । मुलुकको विभिन्न परिवर्तनममा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरुले सञ्चार क्षेत्र नै परिवर्तनको मूल संवाहक रहेको धारणा राखे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन् ।

उनीहरुले अहिले पनि लोकतन्त्र संस्थागत हुन नसकेको उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत र समावेशी बनाउन सञ्चारकर्मीहरुको भूमिका अहम हुने धारणा राखे । कार्यक्रमका प्रमसख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् फोनिज इलामका सल्लाहकार सटेन्द्र जवेगूले परिवर्तनका लागि सञ्चार क्षेत्रको मूमिका स्मरण गर्दै सञ्चार क्षेत्रलाई समावेशी र व्यवसायिक बनाउन फोनिजको भूमिका महत्वपूर्ण रहने बताए ।

‘विगतको केही राजनैतिक परिवर्तनले केहीकेही सञ्चारमाध्यमले समावेशी गर्न खोजेको देखिन्छ । केही विकास र सुधार भएको छ’ जवेगूले भने ‘तरपनि समग्रमा नेपालमा सञ्चार क्षेत्र समावेशी छैन । तसर्थ सञ्चार क्षेत्रलाई समावेशी बनाउन फोनिजको भूमिका महत्वपूर्ण रहन्छ । सञ्चार क्षेत्र पूर्ण समावेही भएमा मात्र समावेशी लोकतन्त्र कार्यान्वयन हुन्छ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय कार्यसमिति सदस्य ख्याम भुजेलले पछिल्लो समय नेपाल आदिवासी जनजाति आन्दोलमा देखिएका वैचारिक स्खलन र आफ्नो मुद्धाप्रतिको वितृष्णालाई कलमको माध्यमबाट फोनिजले निरन्तर अगाडि बढाईरहेको बताए । आदिवासी आन्दोलन कमजोर भएको विश्लेषण भईरहँदा समेत फोनिजले त्यसको प्रतिवाद गरिरहेको बताए । उनले आदिवासी आन्दोलनलाई यहाँसम्म ल्याउन फोनिजको भूमिका अहम रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेलीले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र समावेशी बनाउन आवश्यक रहेको धारणा राख्दै त्यसका लागि सशक्तिकरण र क्षमता विकासमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने धारणा राखे । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ले विश्व आदिवासी दिवसमा प्रदेश सरकारले दिएको सार्वजनिक विदा कर्मचारीले कार्यान्वयन नगरेर संघीयता नै असफल गराउने षडयन्त्र सुरु भएको दावी गरे । उनले संघीयता कार्यान्यनका लागि सञ्चारकर्मीहरुले निरन्तर दवाव दिन सुझाए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकालले सञ्चारकर्मीहरु आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा आदिवासी जनजाति युवा महासंघका केन्द्रीय संगठन सचिव राजकुमार राई, प्रेस सेन्टरका अध्यक्ष राजेश पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष बुद्धमाया सोङमी र सञ्चालन सहसचिव सृजना श्रेष्ठले गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आईतबार देशैभर विभिन्न कार्यक्रम गरी आफ्नो १९ औं स्थापना दिवस मनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार