सुजता सुनुवार
जिल्लामा ६ महिनाको अवधिमा ७८ वटा मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटना घटेको पाईएको छ । बुधबार इलाममा मानव अधिकार वर्ष पुस्तक २०१९ का लागी तयार पारिएको अर्ध वार्षिक प्रतिवेदन पूर्व समिक्षा कार्यक्रमको आयोजना गरी अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)इलामले जानकारी दिएको हो ।
केन्द्रका अनुसार सन् २०१८ को जनवरी देखी जुन महिना सम्मको अवधिमा जिल्लामा ७८ वटा मानवअधिकार उल्लघन तथा ज्यादतीका घटना घटेका छन् ।
जसमा सबै भन्दा बढि आत्महत्या रहेका छन् । जसमा पुरुष २६ र महिला १९ जना गरी ४५ जना रहेका ईन्सेक इलामका प्रतिनिधि कोकिला ढकालले बताउनु भयो । १५ जनामा घरेलु हिंसा भएको पाइएको छ । यसैगरी महिला तथा बालिका बलत्कारका ११ वटा घटना घटेका छन् ।
जसमध्ये बालिकामा ६ र महिलामा ५ जनामा बलत्कारका घटना घटेका छन् । इन्सेक प्रतिनिधि ढकालका अनुसार २ सञ्चारकर्मी र २ बालक सहित चार जनामा कुटपिट भएको छ । शिशु महिला र पुरुष गरी तीन जनाको हत्या भएको छ ।
जिल्लामा राज्य पक्ष भन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लंघनमा बढी संम्लग्नता रहेको पाईएको छ । सन् २०१७ मा मे सम्ममा जिल्लामा ६६ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक इलामले जनाएको छ ।
जिल्लामा भएका घटना जनचेतना अभावका कारणले भएको जिल्ला न्यायधिस रिद्धिनाथ निरौलाले बताउनु भयो । नगरपालिका नजिकैको शहरमा त वास्तविक घटेका घटनालाई लुकाइन्छ भने ग्रामिण भेगको अवस्था कस्तो होला । भन्दै आफ्नै छोरीको बलत्कारको घटनाबारे प्रष्ट पार्दै न्यायधिस निरौलाले यसमा सबैको ध्यान जान जरुरत रहेको बताउनु भयो ।
यस्तै मानव अधिकारका घटना स – साना हुन्छन् । यस्ता सामान्य घटना भनेर प्राथमिकतामा नराख्दा समस्या जटिल बन्ने बताउदै महिला तथा बालबालिका कार्यलयका अधिकृत राजकुमारी राईले मानव अधिकार हननका सबै घटनाका संख्यालाई पुस्तकमा समेट्न सुझाव दिनु भयो । यस्ता घटनालाई समेत समेटिए सरोकारवाला संघसस्थालाई कार्य गर्न सहज हुने बताइएको छ । कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले भने जिल्लामा घटेका घटनामा कानुन बमोजिम कारबाही गरिने बताउनु भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा गैह्र राज्य पक्षबाट बढि मात्रामा मानवअधिकार उल्लंघनका घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा अधिवक्ता टीका भारद्धज , युवा महासंघ अध्यक्ष नवराज शंकर , एकल महिला अध्यक्ष दीपा आचार्य , पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हरी फूयाल विद्यार्थी संगठनका प्रतिनिधि इश्वरी तामाङ्ग लगायतले बोलेका थिए ।
मानव अधिकार मञ्चका अध्यक्ष मोहन सिंह थेवेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका योगराज सापकोटाले जिल्लाका समग्र मानव अधिकारको स्थितीकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।






















































