यस्तो छ प्रेस युनियनको विगत र बर्तमान

काठमाडौँ : लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आज देशभरि २७औं बार्षिकोत्सव मनाउन लागेको छ ।
देशका शाखामा आज युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा सङ्गठितरुपमा अगाडि बढ्ने अठोट सहित नेपाल प्रेस युनियनको स्थापना गरेकाले जेठ १३ मा स्थापना दिवस मनाउने गरिएको युनियनका पुर्व अध्यक्ष मुरारी शर्माले बताउनु भयो । देशभरिका सवै जिल्लामा शाखा स्थापना गरेको युनियनले कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी दुई वटा उपशाखा पनि बनाएको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीका अनुसार अहिले युनियनका सात वटा प्रतिष्ठान शाखा छन् भने गत वर्षदेखि विदेशमा पनि शाखा गठन गर्न सुरु गरिएको छ । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । देशभर करिब आठ हजार पत्रकार युनियनमा आबद्ध रहेका छन् ।

पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने शास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवी पत्रकार आबद्ध रहन सक्ने युनियनको विधानमा उल्लेख छ । श्रमजीवी पत्रकारको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । तदर्थ समितिमा गुप्ता सहित हरि अधिकारी सहित रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरी सत्र जना सदस्य रहनुभएको थियो ।

तदर्थ समितिले २०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि २०५१ सालमा पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशनले रमेश तुफान, पर्साको वीरगन्जमा २०५३ सालमा भएको तेस्रो महाधिवेशनले तारा बराल, २०५६ सालमा सुनसरीको इटहरीमा भएको चौथो महाधिवेशनले कुलचन्द्र वाग्ले अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।

त्यसैगरी सिरहाको लाहानमा २०६० सालमा भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई, कास्कीको पोखरामा २०६४ सालमा भएको छैठौँ महाधिवेशनले समिरजङ्ग शाहलाई र २०६७ सालमा सुनसरीको इटहरीमा भएको सातौ महाधिवेशनले किरण पोखरेललाई केन्द्रीय अध्यक्ष चयन गरेको थियो ।

बद्री सिग्देलको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गतेसम्म भएको महाधिवेशनले गठन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार