आर्थिक सम्वृद्धिमा ९५ प्रतिशत घरेलु तथा साना उद्योगको योगदान

सुजता सुनुवार

इलाम : नेपालको आर्थिक सम्वृद्धिमा घरेलु तथा साना उद्योगको विशेष योगदान रहने घरेलु तथा साना उद्योग विभाग काठमाण्डौँका महानिर्दैशक शत्रुध्न प्रसाद पुडासैनीले बताएका छन् । आइतबार इलाममा आयोजित व्यवसाय सम्बद्र्धन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठीमा यस्तो बताए ।

आर्थिक सम्वृद्धिमा ९५ प्रतिशत योगदान घरेलु तथा साना उद्योगको रहेको बताउँदै, इलाममा सञ्चालित घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि जागरुक बन्न सम्बन्धित संघसस्थालाई आह्वान समेत गरे ।

गोष्ठीमा बोल्दै उनले भने, ‘इलाम आर्थिक पक्षमा मजबुद बन्ने प्रचुर सम्भावना बोकेको जिल्ला हो ।’ जिल्ला बासी सबैलाई उद्यमी बनाउदै उद्यमीहरुको जिल्ला बनाउन सबै जिल्लाबासी, संघसस्था लाग्नु पर्ने पक्षमा उनले जोड दिए ।

जिल्लामा हालसम्म लघु घरेलु तथा साना उद्योग गरी दुई हजार ६ सय २९ संख्यामा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय इलामका कार्यक्रम संयोजक खड्ग बस्नेतले जानकारी दिए ।

घरेलु तथा साना उद्योग विभाग काठमाण्डौँको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय इलामको सहआयोजनामा भएको गोष्ठीमा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, जिल्ला सम्वनय समितिका प्रमुख गणेशप्रसाद वराल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सफल र्पोतेल, घरेलु अधिकृत सत्यनारायण राईलगायतको उपस्थिति थियो ।

गोष्ठीमा जिल्लाका विभिन्न उद्योगी, सम्बन्धित संघसस्था, हर्टिकल्चरका विद्यार्थीहरु लगायत गरी एक सय पचास भन्दा बढीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार