आधुनिक भट्टीमा कृषकको आकर्षण (भिडियोसहित)

राम योङहाङ

इलाम : पछिल्लो समय पूर्वी नेपालका अलैंची किसानहरु आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैंची सुकाउन कम समय लाग्ने र यस्तो भट्टीमा सुकाईएको अलैंचीमा प्राकृतिक रङ तथा मौलिक वासना समेत कायम हुने भएकाले अलैंची कृषकहरु यसप्रति आकर्षित भएका हुन् ।

सिंहवाहिनी इन्जिनियरिङ वक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा ‘पूर्वी सात जिल्लामा उन्नत अलैंची भट्टी प्रवद्र्धन परियोजना’ सञ्चालन भएपछि कृषकहरु परम्परागत भट्टी छाडेर आधुनिक भट्टीतर्फ लागेका हुन् ।

सिंहवाहिनी इन्जिनियरिङ वक्स एण्ड इनर्जी प्रालिले पूर्वका सात जिल्लामा परियोजना अन्तरगत उन्नत अलैंची भट्टी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । पूर्वका तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङमा गतवर्षदेखि परियोजना सञ्चालन भईरहेको प्रवन्ध निर्देशक टंकप्रसाद तिमल्सिनाले जानकारी दिए ।

सन् २०१७ जनवरीदेखि सुरु भएको परियोजना ०१८ मे सम्म सञ्चालन हुने उनले बताए । परियोजनाका क्रममा अलैंची कृषक र अलैंची व्यवसायीसँग छलफल, अन्तरक्रिया र सचेतना कार्यक्रम भईरहेको उनले जनाए । ९० लाख ९२ हजार पाँच सय रुपैयाँको परियोजनामा स्थलगत अध्ययनका लागि उन्नती कार्यक्रमले ५८ हजार २५ हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

परियोजना सञ्चालन भएपछि आधुनिक भट्टीको माग बढेको प्रोडक्सन म्यानेजर गोपाल खड्काले बताए । उनका अनुसार ‘उड कम्बस्टर भट्टी’ नामक आधुनिक भट्टीको प्रयोगमा कृषकहरु आकर्षित भएका हुन् ।

एक वर्षका अवधिमा मात्र एक सय बढी उड कम्बस्टर भट्टी निर्यात भएको निर्देशक तिमल्सिनाले जानकारी दिए । उनका अनुसार हालसम्म तेह्रथुममा ५, धनकुटामा ३, भोजुरमा ५, संखुवासभामा १, इलाममा १७ वटा, पाँचथर ४४ र ताप्लेजुङ ७ वटा भट्टी निर्यात गरिएको छ । कतिपय जिल्लामा कृषकले आफैं खरिद गरेर तथा कतिपय जिल्लामा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेर लैजाने गरेको उनले बताए ।

गुणस्तर तथा नापतौल विभागले गुणस्तरको मान्यता दिएकाले समेत भट्टीको माग देशका विभिन्न क्षेत्रबाट भईरहेको निर्देशक तिल्सिनाले बताए । ‘यस्तो भट्टीको फाइदा बुझेर देशभरबाट माग आउन थालेको छ’ उनले भने, ‘कृषकले फाइदा थालेपछि माग समेत बढेको हो ।’ पूर्वका ओखलढुङगा, खोटाङ तथा पश्चिमका पोखरा, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, दोलखा लगायतका स्थानबाट समेत माग भईरहेका उनले बताए ।

उड कम्बस्टर भट्टीको मुल्य ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पर्दछ । क्षमता अनुसार मुल्यमा समेत फरक पर्ने गर्दछ । सो भट्टीमा २ सयदेखि ४ सय किलोसम्म काँचो अलैंची सुकाउने सकिन्छ । १० घण्टामा डेढ मन काँचो अलैंची सुकाउन सकिने भट्टी सो भट्टीमा अलैंची सुकाउँदा अलैंचीको प्राकृतिक रङ र मौलिक वासना कायम हुने, दाउराको खपत कम हुने, अलैंची फुट्ने र धुँवा कम मात्र निस्कने गर्नाले प्रभावकारिता बढेको प्रोडक्सन म्यानेजर खड्काले बताए ।

यसैबीच मंगलबार सोही परियोजना अन्तरगत इलाममा उन्नत अलैंची भट्टी सचेतना कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा सिंहवाहिनी इन्जिनियरिङ वक्स एण्ड इनर्जी प्रालिका मेकानिकल इन्जिनियर कृष्णराम सायमी र प्रोडक्सन म्यानेजर गोपाल खड्काले सहजीकरण गरेका थिए ।

कार्यक्रममा ३५ बढि अलैंची कृषक तथा व्यवसायीहरुको सहभागिता थियो ।

भिडियो : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार