नयाँ बुलन्द
इलाम : अदालतले धरौटीमा रिहा गरेपनि प्रहरीले पक्रेर बेपत्ता बनाएको पीडित परिवारले आरोप लगाएको छ । आगलागी मुद्धामा प्रहरीले पक्राउ गरेको इलाम नगरपालिका १ का २४ वर्षीय विशाल राई र २५ वर्षीय विमल राईलाई अदालतले रिहा गरेपनि प्रहरीले वेपत्ता बनाएको परिवारको आरोप छ ।
विशाल राईकी पत्नी मनिता खत्री (राई) ले मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गरी आफ्नो पतिलाई अदालतले रिहाई गर्नसाथ प्रहरीले वेपत्ता पारेको भन्दै खोजिदिन आग्रह गरिन् ।
इलाम साँखेजुङको एनसेल टावरमा आगजनीको आरोपमा पक्राउ परेका राई द्वयलाई सोमबार जिल्ला अदालतले जनही ७५ हजार नगद धरौटीमा रिहा गरेको थियो । तर रिहा हुनसाथ प्रहरीले पुन पक्राउ गरी परिवारसँग भेटघाट समेत दिएन । ‘केही समय सोधपुछ गर्नुछ, तपाई जानुहोस् । तपाईको पती घर आइहाल्छन् भन्दै प्रहरीले मलाई घर फर्कायो’ विशालकी पत्नी मनिताले पत्रकारसँग भनिन्, ‘विहानसम्म घर नआएपछि प्रहरी कार्यालय जाँदा त्यहाँका प्रहरीले हामीलाई थाहा छैन भन्ने जवाफ मात्र आयो ।’

साधेखोज गर्दा समेत प्रहरीले कुनै जानकारी नदिएको गुनासो गरिन् । ‘बाहिर गार्डलाई सोध्दा यहाँबाट बाहिर लगिसकेको छ । कहाँ लगेको छ भन्ने हामीलाई थाहा हुँदैन । ठूलो मान्छे पर्खनुपर्छ भन्ने मात्र जवाफ आयो’ उनले भनिन् । उच्चस्तरका प्रहरीले आफुहरुलाई भेट समेत नदिएको मनिताको आरोप छ ।
विशाल र विमललाई गत १४ चैत्रमा इलाम नगरपालिका १ साखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा १५ चैत्रमा प्रहरीले पक्राउ गरेको थियो ।
यता जिल्ला प्रहरी कार्यालय इलामले भने विशाल र बिमललाई थप अनुसन्धानका लागि पाँचथर पठाइएको जानकारी दियो । प्रहरी प्रमुख बिपिन कर्माचार्यले विशाल र विमलको अन्य पनि मुद्धा हुनसक्ने भएकाले अनुसन्धानका लागि पाँचथर पठाईएको बताए ।
भिडियो :






















































