इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच सम्झौता (सम्झौताका बुँदा र भिडियोसहित)

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका र धरान उपमहानगरपालिका विच भगिनी सम्बन्ध विस्तार भएको छ ।

इलाम नगरपालिकामा प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्झौता कायम भएको घोषणा गरिएको छ । भगिनी सम्वन्ध दुई स्थानीय तहबीचको मितेरी सम्बन्ध हो । यो सम्बन्ध १० वर्षसम्म कायम राखिने सम्झौता पत्रमा उल्लेख छ ।

धरान उपमहानगरपालिका पहाडको काखमा रहेको र इलाम नगरपालिका पहाडकै रानी उपनामले परिचित छ । पर्यटकीय दृष्टिले सुन्दर अनी सफा नगरपालिकाका रुपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रुपमा समेत यि नगरपालिकालाई लिइन्छ ।

‘इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएमा यसबाट दुबै नगर बीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने र यसबाट आर्थिक समृद्धितर्फ लाग्न सकिने देखिएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना र विस्तार गर्न सक्ने भएकोले निम्नानुसारको उद्देश्य प्राप्तिका लागि भगिनी सम्बन्ध स्थापना गर्न यस सम्झौता पत्रमा हस्ताक्षर गरी एकरएक प्रति बुझि लियौँ र दियौ ।’ सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतापत्रको छायाँप्रति आ–आफ्नो जिल्ला समन्वय समिति, प्रदेश सरकार अन्तरगतका सम्बद्ध मन्त्रालय, सङ्घीय सरकार अन्तरगत सम्बद्ध मन्त्रालय र नेपाल नगरपालिका संघमा समेत पठाउने सहमति समेत गरिएको छ । के छन् त सम्झौता पत्रमा ? आपसी सिकाइ र अनुभव आदान प्रदान गर्दै, स्रोत साझेदारीको माध्यमबाट दुबै नगरपालिकालाई समृद्ध बनाउने लक्ष लिइएको छ ।

यी हुन् सम्झौताका बुँदाहरू :

(क) दुबै न.पा.का पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी प्रत्येक ६/६ महिनामा बैठक बस्ने, कार्य योजना तयार गरी कार्यान्वयन गर्ने।

(ख) प्रस्तुत सम्झौता पत्रको उद्देश्य प्राप्तिका लागि संयुक्त रूपमा सहकार्य गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी बजेट समेतको व्यवस्थापन मिलाई सहयोग आदानप्रदान गर्ने ।

(ग) यस सम्झौता पत्रको उद्देश्य प्राप्तिका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय तह बीचमा समन्वय गर्ने एवम् सरोकारवाला सरकारी, गैर सरकारी तथा  निजी क्षेत्रसँग समन्वय गर्ने, सहयोग प्राप्त गर्ने ।

(घ) यस सम्झौता पत्रमा उल्लेख नभएका कुराहरूको हकमा दुबै न.पा. का पदाधिकारी रहेको संयुक्त समितिको बैठकमार्फत आपसी समझदारी अनुसार गर्ने ।

(ङ)  यस संझौताले सिर्जना गरेको संयुक्त समितिको कार्यविधि समिति आफैले बनाई संझौता भएको मितिले १ महिना भित्रमा बैठक बसी विषयगत कार्य योजना तथा ढाँचा तयार गरी कार्यान्वयन गर्ने ।

(च) यो सम्झौतामा हस्ताक्षर भएको मितिले १० वर्षम्म मान्य हुनेछ । आपसी समझदारीबाट सम्झौताका बुँदाहरू परिवर्तन तथा अवधि थप गर्न सकिनेछ ।

धरान र ईलामको सार्वजनिक निजि साझेदारी विकासका लागि एक विज्ञ/प्रतिनिधी मण्डल गठन गरी उद्योग, वाणिज्य, व्यापार, शिक्षा, पर्यटन, स्वास्थ्य लगायत विषयमा अवधारणा तयार गरिनेछ।

उदेश्य प्राप्तिका लागि अवलम्बन गर्ने क्रियाकलाप

  • इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच अनुभव आदानप्रदान, प्रविधि हस्तान्तरण तथा क्षमता अभिबृद्धि गर्ने ।
  • इलाम नगरपालिका र धरान उपमहानगरपालिकाको राम्रा पक्षहरूलाई अनुकरणका लागि अध्ययन अनुसन्धान गर्ने, यस कार्यका लागि विश्व विद्यालयस्तरमा कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
  • विकास अभियानमा वातावरण तथा पर्यटनमैत्री विकास प्रयासलाई आत्मसात गर्ने ।
  • विपद् व्यवस्थापन कार्य योजना बनाई सोको कार्यान्वयनमा सहयोग आदान प्रदान गर्ने ।
  • आ-आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्ने कार्यमा सवल पक्षहरूलाई उपयोग गर्ने ।
  • आ-आफ्नो क्षेत्रका शैक्षिक, सामाजिक, आर्थिक विकासमा संलग्न संघसंस्थाहरू बीच आपसी मित्रताको लागि समन्वय गर्राई क्षमता विकासका लागि क्षमता विकास योजना बनाउने ।
  • क्षमता विकास योजना बनाउँदा नगरपालिका कर्मचारीको मात्र क्षमताको योजना नभई नगरपालिकाको करदाता समेतको क्षमता विकास हुने गरी समग्र क्षमता विकास योजना कार्यान्वयन गर्ने र सोको लागि वर्षोनी बजेट विनियोजन गर्ने ।
  • इलाम र धरान बीच मित्रताको स्वरूपलाई अझ गाढा र जीवन्त बनाई सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रको विकासमा ध्यान दिई हरेक पक्षबाट समृद्धिको स्तर प्रवर्द्धन गर्न प्रयत्नशील रहने ।
  • धरान उपमहानगरपालिकाको स्वास्थ्य संस्थाको ईलाम नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको बिचमा विशेषज्ञ आदान प्रदान लगायत कार्यमा समन्वय र सहयोगको वातावरण बनाउन पहल गर्ने।
  • इलाम र धरानलाई विश्वको एउटा आकर्ष र सुविधायुक्त पर्यटकीय गन्तव्यको रूपमा प्रचारप्रसार गर्ने, प्रारम्भिक चरणमा आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि एकआपस जोडिने गरी भ्रमण प्याकेज तयार गर्ने र सो भ्रमण प्याकेज कार्यान्वयनमा सहयोग गर्ने साथै भ्रमण प्याकेज कार्यान्वयनका लागि संस्थागत नीति तथा कार्यविधि तयार गरी लागू गर्ने ।
  • इलाम र धरानमा र्सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रयोग गरी विकास अभियानमा निजी क्षेत्रको सहभागिता अभिबृद्धि गर्ने ।
  • धरान उपमहानगरपालिकाको नेतृत्वमा रहेको पूवाञ्‍चल क्षेत्रीय अध्ययन केन्द्र -सङ्घीय संरचना अनुसार नाम परिवर्तन भए, सोही नाम प्रयोग गरिने) को क्षमता अभिबृद्धि गर्ने ।
  • साईकल पर्यटन गन्तव्यको रुपमा धरान देखि ईलाम सम्मको पहाडी मार्गलाई सदुपयोग गरी ECO Tourism को विकास गर्ने।
  • पहाडी मार्गमा यातायात विस्तार गर्न आवश्यक सहकार्य गर्ने।
  • ईलाम र धरानको साँस्कृतिक विकासका लागि सरोकारवाला संस्था समेतको सहभागितामा कार्य गर्ने।
  • ईलाम र धरानको शैक्षिक संस्थाको सम्बन्ध विस्तार गर्ने।
  • युवाहरुको भाईचारा वृद्धि गर्न खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापहरु संचालन गर्ने।
  • उद्देश्य प्राप्तिका लागि गरिने कार्यहरु आपसी समन्वय सहकार्य र लगानीबाट सम्पादन गर्नका लागि एक विधान तयार गर्ने र सो विधान दुवै नगरपालिकाबाट स्विकृत गरी लागु गर्ने ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार