इलाम मेला महोत्सव : १८ रुपैयाँको चाउचाउ ३० मा बेचिदैं (भिडियो सहित)

नयाँ बुलन्द

इलाम : कुनैपनि महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धनका लागि आयोजना गरिन्छ । स्थानीय व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि साना तथा ठूला महोत्सवको आयोजना गर्ने गरिन्छ ।

तर इलाममा भने यसको ठीक विपरीत देखिएको छ । इलाम सदरमुकाममा आयोजित इलाम मेला महोत्सवमा स्थानीय उत्पादनले खासै महत्व पाएको छैन । जिल्लाबाहिर उत्पादित सामग्रीले बढी महत्व पाएको छ ।

यहाँ उत्पादित चिया, छुर्पी, ललिपप, बम्बैसन लगायत इलाम चिनाउने वस्तुले स्थान नपाएको जिल्लाबासीहरुको गुनासो छ । महोत्सवमा एसियन थाईफुड्स प्रा.लि.द्वारा उत्पादित रमपमले मज्जाले भाउ पाएको देखिएको छ । रमपमको प्रयोग गरेर विचौलियाले हज्जारौं ठग्न भ्याईरहेका छन् ।

यतिसम्म ठगी भईरहेको छ की, १८ रुपैयाँ कम्पनी बिक्रय मुल्य रहेको रमपम ३० रुपैयाँमा खुलेआम बिक्री भईरहेको छ । मेला भर्न आउने आगन्तुकलाई प्रशेव शुल्कको नाममा यसरी दिनहुँ ठगी भईरहँदा समेत सम्बन्धित निकाय भने मौन छ ।

मूल गेटदेखि नै सुरु भएको ठगीको धन्दा परिसरभित्र समेत प्रसस्तै देखिन्छ । गत २१ चैतदेखि सुरु भएको मेलामा कन्काई सर्भिस प्रा.लि.ले सयौंलाई लुटिरहेको छ ।

स्थानीयले यसको विरोध गरेका छन् । स्थानीय स्तरमा आयोजित मेलामा भित्रको कार्यक्रमका रकम लिईएपनि मूल गेटमा भने टिकटका नाममा रकम असुल्न नहुने स्थानीय संगीता लिम्बू बताउँछिन् । टिकटको नाममा महँगो मुल्यमा रमपम बेच्ने काम आयोजकबाट भएको गुनासो गरिन् ।

यता ठेकेदार कम्पनीले भने रमपम बिक्री नगरेको दावी गरेको छ । कम्पनीका प्रतिनिधि विवेक अग्रवालले आफुहरुले टिकट वापत ३० रुपैयाँ लिएको तर रमपम भने बिक्री नगरेको बताए । उनले एसियन थाईफुड्सले मेलालाई प्रायोजन गरी उपलब्ध गराएको रमपम आगन्तुकलाई टिकट लिएवापत निशुल्क प्रदान गरेको दावी गरे ।

इलाम नगरपालिकालाई दुई लाख रुपैयाँ बराबरको काम गरिदिने शर्तमा आफूहरुले ठेक्कामा लिएको कम्पनीका प्रतिनिधि विवेक अग्रवालले जानकारी दिए । कम्पनीले नगरपालिकालाई नगद रकम नदिई, सदरमुकाम स्थापनाको दुई सयौं शतवार्षिकी कार्यक्रमका लागि रकम बराबरको विभिन्न स्टल तथा स्वागतद्वार निर्माण गरिदिने अग्रवालले बताए ।

मेला ४ बैसाखसम्म सञ्चालन हुनेछ ।

भिडियो हेर्न :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार