इलाम : पछिल्लो तीन आर्थिक बर्षमा इलाम जिल्लामा ७६ जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक बर्ष ७२/७३ मा २१ जना, आर्थिक बर्ष ७३/७४ मा ४५ जना र यस आर्थिक बर्षको पहिलो नौ महिनामा १० जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले आयोजना गरेको “जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना–२०७४” अन्तरक्रिया कार्यक्रममा इलाम जिल्लाको बास्तविक स्थिति प्रस्तुत गर्दै प्रहरी उपरिक्षक विपिन कर्मचार्यले यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । शैक्षिक योग्यताको आधारमा बलत्कार का घटनाहरुको विश्लेषण गर्दा पीडितहरु साधारण लेखपढ गरेका ४४ जना, एसएलसी सम्म अध्ययन गरेका ३० जना, १२ पास गरेका २ जना महिलाहरु बलत्कारको सिकार भएको उनले जानकारी दिए ।
उनले भने, “पीडककको हकमा पनि साधारण लेखपढ गर्ने ५३ जना, एसएलसीसम्मको अध्ययन गर्ने १७ जना, १२ पास गरेका ६ जना पुरषहरु रहेका छन् ।” यो तथ्याङ्क केलाएर हेर्ने हो भने साधारण लेखपढ गरेका महिला र त्यस्तै वर्गका पुरुषहरु इलाम जिल्लाको हकमा पीडित र पिडक भएको देखिन्छ । उमेरको हकमा हेर्ने हो भने १६ बर्ष उमेर समुहसम्मका ४२ जना, १७ देखि २५ बर्ष उमेर समुहका १६ जना, २६ देखि ४० बर्ष उमेर समुहका १० जना, ४१ देखि ६० बर्ष उमेर समुहका ५ जना र ६१ बर्ष माथिका १ जना महिला बलात्कृत भएको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरियो । यसैगरि पीडकको हकमा १६ बर्षसम्मका १३ जना, १७ देखि २५ बर्ष उमेर समुहका ३७ जना, २६ देखि ४० बर्ष उमेर समुहका १३ जना, ४१ देखि ६० बर्ष उमेर समुहका १० जना र ६१ बर्ष माथिका ३ जना पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामले आर्थिक अवस्थाका अधारमा पनि विगत ३ आर्थिक बर्षमा इलाम जिल्लामा घटेका घटनाहरुको विश्लेषण गरेको छ । निम्न बर्गका ४३ जना, मध्यम बर्गका ३१ जना र उच्च मध्यम बर्गका २ जना महिला पीडित बनेका छन् भने निम्न बर्गका ३९ जना, मध्यम बर्गका ३२ जना र उच्च मध्यम बर्गका ५ जना पुरुषले घटना घटाएको देखिएको छ । घटनास्थलको प्रकृतिको कुरा गर्ने हो भने खुल्ला स्थानमा ५३ वटा घटना घटेको र बन्द स्थानमा २३ वटा घटना घटेको पाईएको छ ।
जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग अपराधको विद्यमान अवस्था, प्रवृत्ति र प्रकृति अध्ययन गर्दा केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको, पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाउने गरेको, पहिला सहमतीमा हुने आफन्तहरुले थाहा पाएपछि सामाजिक प्रतिष्ठा इज्जतको कारण उजुरी पर्ने गरेको, प्रेम सम्बन्ध राखि विवाह गर्ने आस्वासनमा पार्ने गरेको, उमेर नपुगेका बालबालिकाहरुले पनि शारिरीक सम्पर्क राख्ने गरेको, विभिन्न आर्थिक, वैदेशिक रोजगारी लगाई दिने जस्तो प्रलोभन देखाई जवरजस्ती करणी गर्ने गरेको, सर्वप्रथम गाउँ घरमानै पक्ष विपक्ष राखी मलाउने प्रयास, प्रयास विफल पश्चात मात्र प्रहरीमा आउने गरेको, पूर्ण रुपले प्रहरी प्रशासनमा सूचना नआउने गरेको, प्राय जसो घरमा संरक्षक तथा आफन्तहरु कोहि पनि नभएको मौका पारी नाबालिकाहरुलाई ललाई फकाई, प्रलोभनमा पारी डर त्रास देखाई आफ्नो यौन प्याष बुझाउनको लागी जवरजस्ती करणी गर्ने गरेको, एक्लै घाँस दाँउरा मेलापात जंगल गएको अवस्थामा, जस्ता अवस्थाहरु बलत्कारका घटनाहरु अध्ययन गर्दा पाईएको प्रहरी उपरिक्षक विपिन कर्माचार्यले आफ्नो पावरपोइण्ट प्रस्तुतिका क्रममा जानकारी दिए ।
आयोजकल बलत्कारका घटना न्युनिकरण गर्नका लागि अल्पकालिन योजना तयार गर्न कार्यक्रममा सहभागीहरुबाट सुझाव सङ्कलन समेत गरेको थियो । कार्यक्रममा महिला जागरण संघकी अध्यक्ष विष्णु दहाल लिम्बु, महिला तथा बालबालिका कार्यालय इलामकी प्रमुख राजकुमारी राई, जिल्ला जनस्वास्थ प्रमुख जीवनकुमार मल्ल, मानव अधिकार मञ्च इलामका उपाध्यक्ष विरबहादुर खड्का, जिल्ला अस्पताल इलामका डाक्टर सुरेन्द्र आचार्य, देउमाई नगरपालिका उप प्रमुख पविमाया राई, निमित्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल लगायतले कार्ययोजना तयारीका लागि सुझाव दिएका थिए । कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय झापाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बलत्कारको घटना न्युनिकरणका लागि स्थानीय सरोकारवालासँग समन्वय हुनपर्नेमा जोड दिए । देशव्यापी रुपमा सरकारले नै चलाएको अभियान भएकोले बलत्कारका घटना न्युनिकरण गर्न सबै सरोकारवालाहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।