बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने नगरको निर्णयप्रति आक्रोशः ‘के महिला मेसिन हुन ?’ (भिडियो)

इलाम : इलाम नगरपालिकामा जति धेरै बच्चा जन्मायो उति बढी प्रोत्साहन भत्ता पाइने भएको छ ।

आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न नगरपालिकाले बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले जनसंख्या वृद्धि गर्ने योजना अघि बढाएको छ । कार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको हो ।

नगरभित्रका दोस्रो बच्चा जन्माउनेलाई दुई हजार, तेस्रो बच्चा जन्माउनेलाई तीन हजार, चौथो बच्चा जन्माउनेलाई चार हजार र पाँचौ पटक र सो भन्दा माथि बच्चा जन्माउनेलाई पाँच हजार रुपैयाँ पोषण भत्ता दिने निर्णय गरेको हो ।

दुई पटकसम्म बच्चा जन्माउने महिला कर्मचारीलाई सेवा सुविधा दिने सरकारी नियम छ । तर इलाम नगरपालिकाले भने बढी बच्चा जन्माउनेहरुलाई प्रोत्साहत रकम वृद्धि गर्दै लगेको छ ।

नगरपालिकाका प्रमुख महेश बस्नेतले इलामको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकाले जनसंख्या बृद्धि गर्न प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरेको बताए ।

नगरपालिकाको जनसंख्या अहिले ४८ हजार ५ सय ३६ मात्र छ ।

आगामी २० वर्षमा जनसंख्या वृद्धि गरेर उपमहानगरपालिकामा स्तरोन्नति गर्ने लक्ष्यका साथ बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता वृद्धि गरिएको नगरपालिकाको तर्क छ ।

नगरपालिकाले गरेको निर्णयको चर्को आलोचना भएको छ । नेपाल महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले नगरपालिकाको निर्णयले गरिवलाई झन् गरिब बनाउने बताइन् ।

नगरपालिकाको निर्णयको महिलाहरुले पनि विरोध गरेका छन् । आफूहरुलाई मान्छे उत्पादन गर्ने मेसिनको रुपमा नलिन महिलाहरुले चेतावनी दिएका छन् ।

महिलाहरुले नगरपालिकाको निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।

स्थानीय शिक्षक गणेशकुमार भट्टराई नगरपालिकाको निर्णय कार्यान्वयन गर्न सबैभन्दा पहिला परिवार नियोजनका साधन प्रयोगमा रोक लगाउनुपर्ने बताए ।

नेपालको औसत जनसंख्या वृद्धिदर २ प्रतिशतको हाराहारीमा छ । जनसंख्या वृद्धि नियन्त्रण गर्न सरकारले ठूलो धनराशी खर्च गर्दै आएको छ ।

तर इलाम नगरपालिकाको यो निर्णय केन्द्रीय सरकारको नीतिसँग मेल नखाने देखिएको छ ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार