समाजसेवी काले दमाई स्मृति पुरस्कार हिङमाङ्गलाई

नयाँ बुलन्द

इलाम : यस बर्षको समाजसेवी काले दमाई स्मृति पुरस्कार दलित अगुवा रोहितकुमार हिङमाङ्गलाई प्रदान गरिएको छ । समाजसेवी काले दमाई स्मृति प्रतिष्ठानले वितरण समारोहको आयोजना शुक्रबार गरि पुरस्कार वितरण गर्‍यो ।

११ हजार एक सय ११ रुपैयाँ राशीको पुरस्कार हिङमाङ्गलाई प्रदान गरिएको हो । प्रतिष्ठानको अध्यक्ष नवराज शंकरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रामबहादुर मगरले पुरस्कार एवम् सम्मान पत्र प्रदान गरे ।

सोही अवसरमा इलाम नगरपालिकामा निर्वाचित दलित कार्यपालिका सदस्य र दलित महिला वडा सदस्यहरुलाई सम्मान गरिएको थियो । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि मगर, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत, एमालेका भक्त केसी, काङ्ग्रेसका पुण्य शिवाकोटी, माओवादी केन्द्रका राम राई, संघीय समाजवादी फोरमका छिकिन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा उपाध्यक्ष कमला बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस बर्ष चौथो पटक समाजसेवी काले दमाई स्मृति पुरस्कार वितरण गरिएको हो । यसअघि पहिलो वर्ष स्व. पूर्ण तिखत्री (इलाम), दोस्रो छत्र बराईली (इलाम) र तेस्रो राम दियाली (इलाम) लाई प्रदान गरिएको थियो । समाजसेवी काले दमाई स्मृति पुरस्कार आगामी वर्षबाट हरेक वर्ष जेठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसर पारेर प्रदेश नम्बर १ मा रहेर दलित मुक्ति आन्दोलनमा विशिष्ट योगदान दलित अगुवालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

पाँचथरको याङ्वरक गाउँपालिकामा २०१२ सालमा जन्मिएका हिङमाङ्ग नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य छन् । पहिलो पटक २०३२ सालमा पार्टी राजनीतिमा संगठित भएसँगै उनी निरन्तर सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील छन् । समाजसेवी काले दमाईको जन्म १९२७ र निधन १९९७ सालमा भएको थियो । उनी त्यस समयमा इलामको प्रतिष्ठित समाजसेवी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार