नेपालका २३ जिल्लामा रेडपाण्डा पाइयो

राम याेङहाङ

इलाम : प्रकृति संरक्षण क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको रातो पुस्तिकामा अति संकटापन्न सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) नेपालको २३ जिल्लामा पाइने तथ्य सार्वजनिक भएको छ । रेडपाण्डा नेटवर्कले गरेको पछिल्लो सर्वेक्षणले पूर्वी नेपाल र पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लाहरूमा रेड पाण्डा पाइने पुष्टि गरेको हो । रेड पाण्डा नेटवर्कले सम्भावित ३५ जिल्लामा एक महिना लगाएर सर्वेक्षण गरेको थियो । सर्वेक्षणले रेड पाण्डाको उपस्थिति, तिनको वासस्थान र आहार प्रजातिबारे नयाँ तथ्य पत्ता लगाएको हो ।

सर्वेक्षण प्रतिवेदनअनुसार इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, र कालीकोटमा रेड पाण्डाको उपस्थिति देखिएको छ । यसअघि, २५ जिल्लामा रेड पाण्डा पाइने बताइए पनि गोरखा र मनाङमा रेड पाण्डाको कुनै अस्तित्व नपाइएको रेड पाण्डा नेटवर्ककी संरक्षण अधिकृत पेमा शेर्पाले जानकारी दिइन् । ‘हामीले एक महिना लगाएर रेड पाण्डाको आहारा पाइने ३५ जिल्लामा अनुसन्धान गरेका थियौं’ संरक्षण अधिकृत शेर्पाले भनिन्, ‘२३ जिल्लामा रेड पाण्डा पाइयो । रेड पाण्डा पाइन्छ भनिएको गोरखा र मनाङमा रेड पाण्डाको केही भेटिएन ।’

सर्वेक्षण प्रतिवेदनअनुसार इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, र कालीकोटमा रेड पाण्डाको उपस्थिति देखिएको छ ।

ती दुई जिल्लामा रेड पाण्डाका लागि आहारा मालिंगो र निगालेको जंगल पाइए पनि रेड पाण्डाको कुनै अवशेष नभेटिएको शेर्पाले बताइन् । वनजंगल र बासस्थान हेर्दा सुरुमा रेड पाण्डा पाइने भए पनि पछि विविध कारणले लोप भएको हुन सक्ने उनले बताइन् । रेड पाण्डा नेटवर्कका संरक्षण व्यवस्थापक डम्बर विष्टको नेतृत्वमा ४० जना जीवशास्त्रीहरूको टोलीले रेड पाण्डाको अध्ययन सर्वेक्षण गरेको थियो । मुलुकभर १६ हजार ३ सय १६ वर्ग किलोमिटर क्षेत्रमा रेड पाण्डाको वासस्थान रहेको पनि पत्ता लागेको छ । त्यसमध्ये सबैभन्दा बढी ४६ प्रतिशत पश्चिम, २८ प्रतिशत पूर्व र २६ प्रतिशत मध्यक्षेत्रमा रेड पाण्डाको वासस्थान रहेको पाइएको छ ।

यो सर्वेक्षणले रेड पाण्डाको ७५ प्रतिशत वासस्थान निकुञ्ज÷आरक्ष वा संरक्षित क्षेत्र बाहिर र २५ प्रतिशत संरक्षित क्षेत्रभित्र रहेको देखाएको छ । १७ प्रकारका बाँस र निगालो प्रजाति रेड पाण्डाको मुख्य आहार भएको पनि पुष्टि भएको छ । समुद्री सतहबाट २ हजार २ सयदेखि ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ । रेड पाण्डा साइटिसको अनुसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा सूचीकृत छ ।

निगालोको टुसालाई प्रमुख आहारा बनाउने यसको संख्या नेपालमा करिब पाँच सयको हाराहारीमा रहेको अनुसन्धानले देखाएको छ । तीमध्ये १ सय २५ बढी इलाम, पाँचथर र ताप्लेजुङमा रहेको उल्लेख छ ।  रेड पाण्डा इलामका सन्दकपुरको माईपोखरी, मावु, माईमझुवा, जमुना तथा माईजोगमाईको जोगमाई क्षेत्र, पाँचथरका सिदिन, प्राङबुङ, मेमङ, च्याङथापु, फलैंचा र लुङरूपामा पाइने रेड पाण्डा नेटवर्कको अध्ययनमा उल्लेख छ । नेपालमा पाइने रेड पाण्डा चीन, भारत, भुटान, बर्माका विभिन्न क्षेत्रमा समेत पाइन्छ ।

रेड पाण्डा नेटवर्कले सन् २०२१ सम्मको कार्यक्रम स्वीकृत गरी रेड पाण्डाको संरक्षणका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । २०२१ सम्ममा रेड पाण्डा संरक्षणमा ५ करोड २१ लाख रुपैयाँ खर्च गरिनेछ । रेड पाण्डा नेटवकसँगै डब्लुडब्लुएफ र इसिमोडले पनि यसको संरक्षणमा सघाउँदै आएका छन् । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङको हिमाली संरक्षण मञ्चले कार्यक्रम कार्यान्वयन गर्ने गरेका छन् ।

लजालु र भाग्न नसक्ने भएकाले यसको चोरी सिकारी बढ्दै गएपछि यसलाई संरक्षित सूचीमा राखिएको छ । वासस्थानको विनास, वन डढेलो, विभिन्न विकास निर्माणको कार्य, एक्लिएका वासस्थान, घरपालुवा, गोठमा पालिने कुकुरको आक्रमण, संरक्षणसम्बन्धी जनचेतनाको कमी, एकैपल्ट निगालो–मलिंगोहरू फुलेर नास हुने आहाराको कमी, उच्च तथा अव्यवस्थित चरिचरण, कम जन्मदर र अधिक मृत्युदर, अन्य जंगली जनावरको लागि राखेको पासोमा पर्नु र अवैध व्यापार जस्ता गतिविधिले रेड पाण्डा लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ । रूखको टोड्कामा बस्न चाहने रेड पाण्डाको आहारा निगालो र मालिंगोको पात तथा टुसा हुन् ।

हेर्दा अत्यन्तै आकर्षक देखिने र लजालु स्वभावको रेड पाण्डालाई नेपालीमा हाब्रे, पुडेकुदो, कुदो, वा, न्याक्राउ, नौतोतो, पम्सायाङ, वाह नामले समेत चिनिन्छ । जन्तुमध्ये सबैभन्दा सोझो रेड पाण्डा हलुका रातो, सेतो र कालो हुन्छ ।

प्रजननकाे समयमा अवतजावतमा बन्देज

पूर्वी पहाडी क्षेत्रमा न्यून संख्यामा रहेको रेड पाण्डाको सन् २००७ बाट संरक्षण थालिएको हो । तीन पहाडी जिल्लामा रहेको रेड पाण्डा पाइने क्षेत्रमा जान अहिले बन्देज लगाइएको छ । प्रजननको सयमा भएकाले जेठदेखि साउनसम्म जंगल प्रवेश निषेध गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहले जंगल पस्न बन्देज लगाउँछ । भारतको कञ्चनजंघा संरक्षण परिषद्को सिको गर्दै नेपालको वन क्षेत्रमा पनि प्रवेश निषेध गरिएको हो ।

पुसदेखि फागुनसम्म रेड पाण्डाको प्रजननको समय भएकाले सो समयमा पनि जंगल पस्न बन्देज लगाइन्छ । रेड पाण्डाको प्रजननको समयमा मानिसहरू जंगल जाँदा त्यसलाई प्रभाव पर्ने भएकाले बन्देज लगाउन थालिएको रेड पाण्डा नेटवर्ककी अनुसन्धान अधिकृत पेमा शेपाले जानकारी दिइन् । जंगल प्रवेश निषेध गरिएकोे क्षेत्रमा घाँस दाउरासमेत संकलन गर्न पाइँदैन ।

जंगलमा रेड पाण्डा हेर्ने पर्यटकको घुइँचो हुन नदिनका लागि रेड पाण्डा हेर्न आउने पर्यटकलाई समेत फरक–फरक क्षेत्रमा पु¥याइने गरेको छ । एउटा वासस्थानमा महिनामा दुई पटकभन्दा बढी पर्यटक जान दिन छाडिएको शेर्पा बताउँछिन् । पर्यटकले रेड पाण्डा भेटेपछि आधा घन्टाभन्दा बढी अवलोकन गर्न पाउँदैनन् ।  रेड पाण्डा हेर्न आएकाहरूले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, रेड पाण्डा हेरालु राखिएका फरेस्ट गार्जेन र एकजना नेचर गार्डेन अनिवार्य लिएर जानुपर्छ । रेड पाण्डालाई यताउता धपाउने, जडीबुटी उखेल्ने, बोट विरुवामा हानि पु¥याउन पाइँदैन ।

रेड पाण्डा अवलोकनका लागि आउने पर्यटकले विदेशी भए दुई हजार र नेपालीले एक हजार रुपैयाँ रकम सामुदायिक वनलाई प्रवेश शुल्क तिर्नुपर्छ । अन्य गाइडहरूलाई समेत नियमअनुसार रकम तिर्नुपर्ने प्रावधान छ । प्रवेश शुल्कबाट संकलन भएको रकम रेड पाण्डाको संरक्षणमा नै लगाउँदै आइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार