लेप्चा जातिको एेतिहासिक ज्यूठीको प्रवर्द्धन गरिदै

याम माबोहाङ लिम्बू

समाल्बुङ (इलाम) : बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवर्द्धन थालिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो ।

समालबुङ-५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक स्थल ‘ज्यूठी’ लाई प्रचारप्रसार गरेर चिनाउन शनिबार विशेष कार्यक्रम गरिएको छ । यसै अवसरमा कार्यक्रममा सहभागीलाई ज्यूठीको अध्ययन अवलोकन समेत गराईएको थियो ।

लाप्चा समुदायको नयाँ वर्षको अवसरमा गरिएको कार्यक्रममा लाप्चा राजाले प्राचिन समयमा बासस्थनको रुपमा उपयोग गरेको ऐतिहासिक स्थल ‘ज्यूठी’ को बारेमा जानकारी गराइएको थियो ।

ज्यूठीमा प्राचिन लाप्चा राजा बस्ने ठाउँ, पूजा गर्ने स्थल, छलफल गर्नका लागि बस्ने ठाउँ रहेको लाप्चा उत्थान मञ्च समाल्बुङका अध्यक्ष विकास लाप्चाले जानकारी दिए । लाप्चा राजाले सुरक्षित स्थलको रुपमा त्यस ठाउँलाई उपयोग गरेको इतिहास लाप्चा समुदायमा छ ।

ज्यूठीको संस्थागत अध्ययन र विकास गर्न सकेमा नेपालकै लोपोन्मुख लाप्चा जातिको यहाँको भूमिसँगको सम्बन्धको अध्ययनका लागि थप प्रमाण प्राप्त गर्न सकिने स्थानीय बीरबहादुर लाप्चाले बताए ।

लाप्चा जातिको ऐतिहासिक ज्यूठीलाई राज्यबाट संरक्षण प्रर्वद्धन र विकास गर्न सकेमा समग्र समालबुङको पर्यटन विकास गर्दै आम्दानीको स्रोत समेत बनाउन सकिने नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषदका अध्यक्ष सन्तोष खापुङले बताए ।

ज्यूठीले लाप्चा समुदायको इतिहासको बारेमा अध्ययन गर्न सहयोग मिल्ने लाप्चा इतिहासका जानकार जहरसिंह राईले भने ‘ज्यूठीले लाप्चाको इतिहासलाई पुष्ठी गर्न सहयोग गर्छ । यसले यो भूमिसँग लाप्चाको सम्बन्धको बारेमा जानकारी गराउँछ ।’

कार्यक्रमका अवसरमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो । रोङ सेजुम ठी समालबुङका अध्यक्ष विकास लाप्चाको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ, लिम्बू, लाप्चा समुदायको लोक सस्कृति झल्किने नृत्य देखाइको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार