
उभौली पर्व (यक्वा तङ्नाम) को अवसरमा गतवर्ष इलाम नगरपालिका–९ स्थित बालनगाउँमा सामूहिक रुपमा उभौंली पूजा गरिदैं । तस्विर : फाइल
जीवन लिम्बू
इलाम : किरात समुदायले आफ्नो महन् चाड विभिन्न कार्यक्रम गरी मनाउने तयारी सुरु भएको छ । प्रत्येक वैशाख पूर्णिमाको दिनदेखि सुरु हुने उभौली पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले धुमधामसँग मनाउने तयारी गरेका हुन् ।
बालीनालि लगाउने समयमा मनाइने यो पर्वमा प्रकृति, देविदेवता र भुमीको पूजा गर्ने चलन छ । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ ।
किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने, नाँचगान तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।
किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।
यस वर्ष किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिका ९ बालनगाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उभौली पर्व यक्वा तङनाम मनाउने भएको छ । उक्त पर्वमा किरात लिम्बू समुदायले पुजाआजा, च्याब्रुङ नाचँ, धाननाच लगायतका कार्यक्रमहरु गर्दैछन् ।
यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको स्थानहरु इलामको धुसेनी, बरबोटे, फुएतप्पा, नामसालिङ, इभाङ, बाँझो लगायतका ठाँउमा यक्वा तङनाम मनाउँदै छन् ।
यता किरात राई समुदायले पनि साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका २ ओपिधारामा मनाउने गरेका छन् । किरात सुनुवार समुदायले पुवामझुवा ८ स्थित स्यादरथानमा पुजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु गरि मनाउने भएका छन् ।
याक्खा समुदायले नामसालिङ ८ देवीदेवताको पुजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै मनाउँदैछन् । भुजेल समुदायले पनि इलामको जमुना गाविसमा विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाउँदै छन् ।






















































