दुई पत्रकारलाई सात वर्ष जेल सजाय

रंगुन : म्यानमारको एक अदालतले बेलायती समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ ।

राज्यको गोपनीयता भंग गरेको अभियोगमा रोयटर्स आबद्ध पत्रकारद्वय लोन र क्याव सोई ओओलाई त्यहाँको अदालतले जेल सजाय सुनाएको हो । रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान गरिरहेका ती दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।

फैसला सुनाएका रंगुनास्थित अदालतका न्यायाधीशले दुवै पत्रकारले राज्यको हितमा असर पु¥याउन चाहेको बताए । उनले भने, ‘त्यो कारणले उनीहरू राज्यको गोपनीयतासम्बन्धी कानुनअनुसार दोषी पाइएका हुन् ।’ प्रहरीले उनीहरूलाई केही महत्वपूर्ण कागजातसहित गतवर्ष पक्राउ गरेको थियो ।

अदालतले गरेको फैसलालाई म्यानमारको प्रेस स्वतन्त्रताको परीक्षाको रूपमा हेरिएको छ । रोयटर्सका प्रधान सम्पादक स्टिफन एडलरले भनेका छन्, ‘आजको दिन म्यानमार, रोयटर्सका दुई पत्रकार र विश्वभरको प्रेस स्वतन्त्रताका लागि दुःखको दिन हो ।’ ३२ वर्षीय वालोन र २८ वर्षका क्याव सोई ओओले पूर्वी रखाइनको इन दिनमा सेनाद्वारा हत्या गरिएका १० व्यक्तिको प्रमाण संकलन गरिरहेका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसंघले पत्रकारद्वयलाई रिहा गर्न म्यानमार सरकारसँग आग्रह गरेको छ । पत्रकारद्वय लोन र क्यावलाई रिहा गरी पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले बताए ।

ती पत्रकारहरूको रिहाइका लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि उनले स्पष्ट पारे । यता, रोयटर्सले पनि आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरूमाथि झुटो अभियोग लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार