
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषा संरक्षण तथा स्थानीय भाषालाई सरकारी कामकाजको भाषाका रूपमा स्थापित गर्न योगदान पुर्याएको भन्दै निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो, निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई सम्मान गरेको छ ।
मङ्गलबार माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा सभाको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
उनीहरुलाई भाषा, संस्कृति र साहित्य संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रदेश प्रमुख परशुराम खापुङ, गाउँपालिका अध्यक्ष हेमन्त राईलगायतलले दोसल्ला र ताम्रपत्र प्रदान गरी सम्मान गरे । ताम्रपत्रमा माङसेबुङ गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्ने ऐतिहासिक निर्णय तथा भाषा संरक्षणसम्बन्धी नीतिगत कार्यान्वयनमा उनीहरूले खेलेको भूमिकाको प्रशंसा गरिएको छ ।
सम्मानित इदिङ्गो माङसेबुङ गाउँपालिकाको पहिलो निर्वाचित अध्यक्ष र सुब्बा उपाध्यक्ष हुन् । उनीहरुले आफ्नो कार्यकालमाa स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय भाषा संरक्षणका लागि ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण तथा विकास कार्यान्वयन निर्देशिका-२०७५’ निर्माण गरी लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने आधार तय गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले भाषा भनेको समुदायको पहिचान र अस्तित्वसँग जोडिएको विषय भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले माङसेबुङले स्थानीय भाषा संरक्षणमा थालेको अभियानलाई निरन्तरता दिँदै मातृभाषालाई व्यवहारिक प्रयोगमा जोड्ने नीति अघि बढाइएको उल्लेख गरे ।
‘स्थानीय सरकार केवल पूर्वाधार विकासमा सीमित हुँदैन, भाषा, संस्कार र पहिचानको संरक्षण पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो,’ अध्यक्ष राईले भने, ‘अघिल्लो नेतृत्वले थालेको सकारात्मक कामलाई सम्मान गर्नु हाम्रो दायित्व हो ।’
कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, भाषा अभियन्ता, बुद्धिजीवी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।






















































