१० वर्षको यात्रामा हामी : भरोसा, जिम्मेवारी र नयाँ संकल्प

  नयाँ बुलन्द
112 Shares

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम (www.nayabulanda.com) ले नवौं वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, श्रोता, दर्शक, विज्ञापनदाता, समाचारदाता, स्तम्भकार, सुभेच्छुक, सुभचिन्तक एवम् सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं । साथै यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षीय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न नयाँ बुलन्द उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

२०७४ सालमा इलामबाट सञ्चालित नेपालको १५ एवम् इलामको पहिलो अनलाइन पत्रिकाको रूपमा जब हामीले ‘नयाँ बुलन्द डटकम’ सुरु गर्‍यौं, त्यसबेला डिजिटल पत्रकारिता अझै प्रारम्भिक अवस्थामा थियो । सिमित स्रोत, अपरिचित प्रविधि, अनिश्चित भविष्यबीच पनि हामीले एउटै कुरा थाहा पाएका थियौं, स्थानीय आवाजलाई स्थान दिने छुट कसैले दिनुहुन्न, त्यसका लागि आफू उठ्नुपर्छ ।

हामी उठ्यौं । इलामका गाउँगाउँको खबर, जनताको पीडा, समाजका अन्तर्गथन आवाजहरू र विकासका सम्भावनाहरू बोकेर मिडिया बन्यौं । आज दशौं वर्षमा हामी उभिँदा, त्यो यात्रा केवल हाम्रो होइन, यो तपाईंहरूको पनि हो ।

स्थापनाकालदेखि नै नयाँ बुलन्द डटकमले सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाहलाई आफ्नो मूल ध्येय बनाउँदै आएको छ । सीमित स्रोत साधन, चुनौतीपूर्ण परिस्थितिहरू र प्रविधिगत परिवर्तनका बीच पनि हामीले समाचारलाई केवल सूचना होइन, समाज परिवर्तनको माध्यमका रूपमा लिने प्रयास गरेका छौँ । यही दृष्टिकोणले हामीलाई यहाँसम्म ल्याइपुर्‍याएको छ । यो केवल समयको हिसाबले एक दशक पूरा भएको उत्सव मात्र होइन, निरन्तरता, विश्वास, प्रतिबद्धता र पत्रकारिताप्रतिको जिम्मेवारीको यात्राको महत्वपूर्ण उपलब्धि पनि हो ।

यो १० वर्षको यात्रामा हामीले स्थानीय आवाजलाई प्राथमिकता दिएका छौँ, ओझेलमा परेका विषय, गाउँसमाजका समस्या, विकासका प्रयास, सांस्कृतिक पहिचान र जनताका सरोकारलाई मुख्यधारमा ल्याउने काम गरेका छौँ । हामीले समाचारलाई सत्य र सन्तुलनको आधारमा प्रस्तुत गर्ने प्रयत्न गर्‍यौं, नदेखिएका अनुहारहरूलाई देखाउने, नसुनिएका आवाजहरूलाई सुनाउने हिम्मत गर्‍यौं, साना कुरामा ठूलो दृष्टिकोण राख्यौं र सबैको आवाज बन्यौं ।

डिजिटल युगको तीव्र गतिसँगै पत्रकारितामा नयाँ चुनौती र अवसर दुवै थपिएका छन् । फेक न्यूज, सूचनाको दुरुपयोग, विश्वसनीयताको संकटजस्ता विषयहरू आजका प्रमुख चुनौती हुन् । यस्ता चुनौतीका बीच नयाँ बुलन्द डटकम अझ सशक्त, विश्वसनीय र उत्तरदायी मिडियाका रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।

नयाँ ऊर्जा, नयाँ सोच र नयाँ योजनासहित अघि बढ्ने अठोट लिएका छौँ । आगामी दिनमा अझ गुणस्तरीय सामग्री, खोजमूलक पत्रकारिता, बहुभाषिक सामग्री उत्पादन र प्रविधिमैत्री सेवामार्फत पाठकको भरोसालाई अझ मजबुत बनाउने हाम्रो लक्ष्य रहनेछ । साथै, लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणमा हाम्रो भूमिका अझ सक्रिय हुनेछ ।

वैकल्पिक र जनपक्षीय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै निरन्तर अघि बढ्ने प्रण गर्दछौं ।

अन्तमा, वार्षिकोत्सवको अवसरमा नयाँ बुलन्दले विश्वसनीय समाचार प्रसारण तथा प्रकाशनको लागि साथ दिने र सहयोग गर्नुहुने श्रोता, पाठक, साझेदार, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक नमन र आभार व्यक्त गर्दछौं ।

 

-रामकुमार लिम्बू (योङहाङ)

संचालक/सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार