पाँचथरमा तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव चैत्र १६ देखि १८ गतेसम्म

  युद्धबहादुर बोहोरा
448 Shares

पाँचथरःजिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल सेहोनाम्लाङ (छाला सुकुवा) मा तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव -२०८२ आयोजना हुने भएको छ। महोत्सव सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि) को आयोजनामा चैत्र १६, १७ र १८ गतेसम्म पवित्र तथा आस्थाको केन्द्र मानिनेकै फाल्गुनन्द -५ स्थितसुलुम्फी भञ्ज्याङ क्षेत्रमा सञ्चालन हुनेछ।

फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाको साझा चौतारीमा रहेको सेहोनाम्लाङ समुद्री सतहदेखि करिब २८०० मिटर उचाइमा अवस्थित छ। त्रिकोणाकार फैलिएको करिब दुई वर्ग किलोमिटर क्षेत्रफलको यस डाँडामा मृग, कालिज, लुईचे, स्याललगायत वन्यजन्तु साथै लालिगुराँस, कटुस, बज्राठ र बहुमूल्य जडीबुटी पाइन्छ। घना जंगलले ढाकिएको टुप्पो भाग खुला र नाङ्गो भएकाले यस स्थानलाई सेहोनाम्लाङ नाम दिइएको हो।

याक्थुङ लिम्बु भाषामा ‘सेहो’ को अर्थ छाला र ‘नाम्लाङ’ को अर्थ अत्यधिक घाम लाग्ने स्थान भन्ने जनाइन्छ। यी दुई शब्दको संयोजनबाट बनेको सेहोनाम्लाङलाई नेपालीमा ‘छाला सुकुवा’ नामले पनि चिनिन्छ। याक्थुङ लिम्बु समुदायको पवित्र धर्मग्रन्थ मुन्धुमसँग यस स्थलको प्रत्यक्ष सम्बन्ध रहेको बताइएको छ। धार्मिक अनुष्ठानमा तुतूतुम्याहाङ, फेजिकुम फेदाङ्मा, येबा, साम्बा तथा मुन्धुमसावाहरूले मुन्धुमको व्याख्या गर्दै नाम्सामी-केसामी र सेहोनाम्लाङको प्रसङ्ग जोड्ने गर्दछन्।महोत्सवमार्फत स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र स्थानीय सरकारसँग सहकार्य गर्दै यस क्षेत्रलाई सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएका छन्।

महोत्सव अवधिभर या:लाङ (धान नाच), के:लाङ (च्याब्रुङ नाच), भलिबल प्रतियोगिता, जातीय सांस्कृतिक झाँकी, कृषि तथा हस्तकला प्रदर्शनी र जातीय खानाका स्टलहरू सञ्चालन गरिनेछन्। साथै राष्ट्रिय कलाकारद्वारा विशेष सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ। खेलकुद र सांस्कृतिक प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइनेछ। या:लाङ (धान नाच) मा सहभागी प्रत्येक टोलीलाई रु. ८ हजार (१० टोलीसम्म), के:लाङ (च्याब्रुङ नाच) मा प्रथम हुने टोलीलाई रु. ५० हजार, दोस्रो रु. २० हजार, तेस्रो रु. १० हजार, भलिबल प्रतियोगितामा प्रथम रु. ७० हजार, दोस्रो रु. ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सांस्कृतिक झाँकीमा सहभागी टोलीलाई पनि रु. ८ हजार (१० टोलीसम्म) प्रदान गरिने छ।

महोत्सव सफल बनाउन फाकुमि मुख्य आयोजक रहेको छ भने सह-आयोजकका रूपमा पीवाईसी (फाक्तेप युथ) क्लब फाल्गुनन्द-५, सिर्जनशील युवा समूह मिक्लाजुङ-१ र सेहोनाम्लाङ युवा समूह मिक्लाजुङ-१ रहेका छन्।संस्थाका अध्यक्ष देउमान आङ्देम्बे (डिएम) ले महोत्सवलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण अवसर भएको भन्दै कार्यक्रममा सहभागी भई सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। महोत्सवसम्बन्धी प्रेस मिट फागुन ७ गते विहिबार सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार