
इलाम : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड माङसेबुङ शाखाले इलामको माङसेबुङ गाउँपालिका-१ स्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत ४४ जना छात्रछात्रालाई न्यानो कपडा र ब्याग वितरण गरेको छ ।
विद्यलायमा सोमबार एक कार्यक्रम आयोजना गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३१ हजार दुई सय रुपैयाँ बराबरको न्यानो कपडा र ब्याग वितरण गरेको हो ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक सरोज प्रधानले विद्यार्थीहरूलाई न्यानो कपडा तथा ब्याग हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक प्रधानले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले यस्तो सहयोग गरिएको बताए । प्रधानले बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयले बैंकको यस सहयोगले विद्यार्थीहरूलाई चिसो मौसममा न्यानो कपडाको अभाव नहुने, विद्यालय आउन थप उत्प्रेरणा मिल्ने तथा नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको आत्मबल वृद्धि हुनुका साथै अभिभावकको आर्थिक बोझसमेत केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंकको यस पहलले बैंक र समुदायबीचको सम्बन्ध मजबुत बनाउनुका साथै सामाजिक उत्तरदायित्वमार्फत दिगो विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । स्थानीयवासी तथा विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा गरेका छन् ।
कार्यक्रमको औचित्यबारे बैंकका सहायक शाखा प्रबन्धक रमेश अधिकारीले प्रष्ट पारेका थिए ।




















































