देउवाले तोके कार्यवाहक, अब कसरी अगाडि बढ्छ कांग्रेस ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।

उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे । उनको यो आह्वान र कार्यवाहक सुम्पिएपछि कांग्रेसको १५ औँ महाधिवेशन कसरी र कहिले हुन्छ भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यसमितिको म्याद थप्न सक्ने व्यवस्था विधानले गरेको छ ।

Laxmi sunrise bank

पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् । पार्टीभित्र डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । तर संस्थापन भने विधि र प्रक्रिया पुर्‍याएर १५ औँ महाधिवेशन नियमित गर्नलाई मंसिरसम्म समय नपुग्ने बताउँदै केही समय थप्नुपर्ने बताउँदै आएको छ ।

Shivam Cement

यही अवस्थाले मंगलबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डा तोक्न नसकिरहेका बेलामा देउवाले कार्यवाहक तोक्दै देउवाले आगामी १५ औं महाधिवेशनबाट आफूबाहेक अन्य कुनै साथी सभापति बन्ने स्पष्ट धारणा केन्द्रीय समितिमा लिखित रूपमा राखे ।

Nabil bank

देउवाले भने, ‘घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।’

उनी कार्यवाहक सुम्पेर नेतृत्वबाट ‘रिङ आउट’ भएपछि महाधिवेशन कहिले र कुन हुन्छ भन्ने विषय उठेको छ ।

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले नियमित महाधिवेशनका लागि कार्यवाहक र पदाधिकारीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताए ।

‘सभापतिज्यूले कार्यवाहक सभापति तोक्दै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्न, निर्वाचनको तयारी थाल्न र सुशासन प्रत्याभूति दिलाउने वातावरण निर्माण गर्न भन्नुभएको छ,’ राणाले रातोपाटीसँग भने, ‘अब त्यो काम गर्न सक्ने कि नसक्ने भन्ने विषय कार्यवाहक र अन्य पदाधिकारीहरूको काँधमा आएको छ ।’

संस्थापन पक्षीय केन्द्रीय सदस्य राणाले पदाधिकारीहरू अब विशेष महाधिवेशन भन्दै नलागी नियमित महाधिवेशन जतिसक्यो चाँडो गर्ने वातावरण निर्माण गर्न लाग्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरूसँग सभापति देउवाले आगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरूले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाएकोमा आपत्ति जनाए ।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर संकलनप्रति व्यङ्ग्य गर्दै डा. महतले भने, ‘शेरबहादुरजीले चाहिँ आज कार्यवाहक पनि दिइसक्नुभयो र आउँदो अधिवेशनबाट आफू नेतृत्वमा रहन्न भनिसक्नु भएको छ । यसका बाबजुद पनि पार्टीकै जिम्मेवार नेताबाट जुन खालका प्रश्नहरू आइरहेका छन्, यसले पार्टीमाथि प्रश्न उठाएको छ ।’

महामन्त्री थापा पक्षीय केन्द्रीय सदस्य प्रतिमा गौतम भने कार्यवाहक सभापति तोकिँदैमा महाधिवेशनको मिति पर सार्न नहुने आफूहरूको अडान कायमै रहेको बताउँछिन् । ‘हाम्रो महाधिवेशन मंसिरमै हुनुपर्छ भन्ने अडान कायमै छ । त्यसैको दबाबका लागि संकलन गरिएको हस्ताक्षर बुझाउने तयारी भइरहेको छ,’ गौतमले रातोपाटीसँग भनिन् ।
संस्थापन पक्षले भने महाधिवेशन गर्ने, तर मंसिरमा विधिवत् तरिकाले महाधिवेशन गर्न समय नपुग्ने भन्दै सहमतिमा केही समय सार्नुपर्ने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार