
इलाम : धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी इलामको माईपोखरीमा दर्शनार्थीको घुँइचो लागेको छ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीमा गत १ मंसिरदेखि त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) पर्यटन महोत्सव सुरु भएपछि दर्शनार्थीको घुँइचो लागेको हो ।
रामसार क्षेत्रमा माईपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गरिरहेका छन् । धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने उद्देश्यले त्रिधार्मिक महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङ राईले बताए ।
‘माइपोखरीलाई बहुधार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष छ । त्यसका लागि माईपोखरीलाई विश्वमा चिनाउन अहिले त्रिधार्मिक महोत्सव आयोजना गरेका छौं’ अध्यक्ष राईले भने, ‘धार्मिक सहिष्णुता कायम गर्दै माईपोखरीलाई बहुधार्मिक तीर्थस्थलका रूपमा स्थापित गरी बहुआयामिक अनुसन्धान केन्द्र बनाउन प्रयासरत छौं ।’
महोत्सव अलोकन गर्न एवम् माईपोखरीको दर्शन गर्न अहिले दैनिक ५ हजार बढी भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन् । पूर्वी नेपालका विभिन्न जिल्लासँगै छिमेकी भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरु माईपोखरी आउने गरेको स्थानीय देवेन्द्र सुवेदीले बताए ।

‘महोत्सव सुरु भएपछि यहाँ आउने पर्यटक एवम् भक्तजनहरुको संख्या दिनानुदिन बढिरहेको छ । दैनिक ४/५ हजार भक्तजनहरु आईरहेका छन् । विभिन्न क्षेत्रबाट आउने क्रममा हामीसँग सम्पर्कमा हुनुहुन्छ’ सुवेदी भन्छन्, ‘यो धार्मिक महोत्सवले लाखौंको संख्यामा पर्यटकहरु एवम् भक्तजनहरु माईपोखरीमा भित्र्याउने निश्चित छ ।’
महोत्सवको आकर्षणका रुपमा माईपोखरी दर्शन-अवलोकन, माईपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञ कुण्ड, साधु कुटी, बौद्ध गुम्बा, तीन चुलो, युमाथान अवलोकन र दर्शन रहेको छ । त्यस्तै गुरुहरुबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किरात गुरुबाट प्रवचन यसका थप आकर्षण छन् ।
करिब १ दशमलव ८ हेक्टरमा फैलिएको र नौवटा कुना भएको माईपोखरीलाई प्रकृतिको सुन्दरताका रूपमा लिइने गरिन्छ । यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न सकिदैंन । बलिप्रथा निषेध रहेको माईपोखरीलाई साक्षात् देवीको रूपमा पूजा गरिँदै आएको छ । माईपोखरीमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ ।
द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनवासमा रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने किंवदन्ती छ । माईपोखरीलाई हिन्दू, बौद्ध र किरात मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन विशेष पूजा अर्चना र मेला लाग्ने प्रचलन छ ।
मेची राजमार्ग अन्तरगत बिब्ल्याँटे बजारबाट १३ किलोमिटरको दुरीमा पर्ने माईपोखरी जैविक विविधताको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३ सय प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायतका वनस्पति पाइन्छन् । यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २ सय भन्दा बढी प्रजातिका चराचुररुङ्गीहरू पाइन्छन् ।
माईपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावरणीय पक्षको अध्ययन, अनुसन्धान गर्न समेत मानिसहरू आउने गर्दछन् ।



















































