
काठमाडौं : कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको आज ६ वर्ष पूरा भएको छ ।
२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो ।
आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तरगत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण गरेपछि ठुलो जनधनको क्षति भएको थियो ।
आठ जनाको ज्यान जानेगरी भएको घटनामा दोषी मानिएका सांसद रेशम चौधरी जेलमा छन् । घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
मधेस केन्द्रित दल र थरहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको भन्दै चौधरी लगायत आरोपीलाई रिहा गर्न माग गर्दै आएका छन् ।



















































