फोनिज यूके पत्रकारिता सम्मानबाट शान्ति गुरुङ सम्मानित

 

काठमाडौं : यस वर्षको फोनिज यूके पत्रकारिता सम्मानबाट पत्रकार शान्ति गुरुङ सम्मानित भएका छन् ।

बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गुरुङलाई उक्त सम्मान प्रदान गरेकी हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले प्रदान गर्ने फोनिज यूके पत्रकारिता सम्मान नगद ३० हजार राशीको छ ।

रेडियो नेपालको गण्डकी प्रादेशिक प्रशारण केन्द्र पोखरामा कार्यरत गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा कार्यरत छिन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले आफ्नो कार्यकक्षमै सम्मान प्रदान गर्दै आदिवासी जनजातिको आवाज र अन्य आवाज विहिनहरुको आवाज पत्रकारहरुले बाहिर ल्याइदिनुपर्ने बताइन् ।

‘आदिवासी जनजातिहरु कर्म गरेर खान रुचाउँछन् । बाहिर आउन चाहँदैनन् । उनीहरुको आवाज बाहिर ल्याउन आदिवासी जनजाति पत्रकाहरुले खेलिरहेको भूमिका स्रहानीय छ,’ उनले भनिन्, ‘सञ्चार माध्याम आवाज विहिनहरुको आवाज बन्नुपर्छ । मिडियाले त्यो भूमिका खेल्दै आएको छ ।’

कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङले आफूहरुले पत्रकारिताको माध्यामबाटै समाज रुपान्तरण गर्न चाहेको बताए । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राईले बेलायत शाखाले पुरस्कार स्थापना गरेर नेपालमा पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन र सम्मान गर्न खोजेको बताइन् ।

पुरस्कारका संस्थापक बेलायती सेनाका अवकाश प्राप्त मेजर सोनामछिरिङ शेर्पाले आफूहरुले बेलायत बसिरहेको भए पनि मन नेपालमै भएको र नेपालकै लागि केही गर्न खोजिरहेको बताए । सम्मानित गुरुङले सम्मानबाट आफूलाई पत्रकारितामा अझै खरो उत्रन हौसला प्रदान भएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार